तस्वीरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ।


काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतले नेपाललाई दिने भनेको २० करोड रुपैयाँसम्मको परियोजना आफूखुसी खर्च गर्न नपाउने बताउनुभएको छ । शुक्रबार बिहान बसेको सङ्घीय संसद् अन्तर्गतको राज्य व्यवस्था समितिको बैठकमा सदस्यहरुले राखेको जिज्ञासाको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले भारतले आफूखुसी खर्च गर्न नपाउने बताउनु भएको हो ।

आजको बैठकमा एमाले सांसद रघुजी पन्तले २० करोड रुपैयाँ भारतले आफूखुसी खर्च गर्न पाउनेगरी भएको सम्झौता राष्ट्रिय स्वतन्त्रतालाई कमजोर पार्ने खालको भएको भन्दै विरोध गरेपछि प्रधानमन्त्रीले त्यसको बचाउ गर्दै आफ्नो जवाफ प्रस्तुत गर्नुभएको थियो । हिजो बिहीबार नेपाल र भारतबीच भएको सम्झौता अनुसार भारतले नेपालमा २० करोड रुपैयाँसम्मका परियोजनामा सिधै खर्च गर्न पाउने सम्झौता भएको थियो । सम्झौताप्रति केहीले विरोधसमेत जनाएका छन् ।

सांसद् पन्तको प्रश्नको जवाफ दिंदै प्रधानमन्त्री प्रचण्डले ‘नेपालस्थित भारतीय दूतावासले २० करोड रुपैयाँसम्मको योजनामा आफूखुसी खर्च गर्न पाउने होइन । खर्च गर्ने प्रक्रियामा रहेर मात्रै रकम खर्च हुनेछ’— भनि बैठकलाई जानकारी गराउनुभयो । बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो ‘तीन करोडबाट सुरु भएर पाँच करोड हुँदै २० करोड लगानी गर्ने भन्ने सत्य हो । तर जसरी मन लाग्यो त्यसरी खर्च गर्ने होइन। खर्चको प्रक्रिया छ । भारतले जहाँ पायो त्यहीँ लगानी गर्ने या जसरी मन लाग्यो त्यसरी गर्ने भन्ने पनि होइन ।’

उक्त बैठकमा बोल्दै एमाले सांसद पन्तले प्रधानमन्त्रीसँग भारतीय विदेशमन्त्री जयशङ्करले नेपाल आउनासाथ चिनियाँ प्रतिनिधिमण्डल नेपाल आएको भन्दै विरोध जनाएको भनेर बैठकमा धारणा माग गर्नुभएको थियो ।

सांसद् पन्तको जिज्ञासा मेट्दै प्रधानमन्त्री प्रचण्डले भारतीय विदेशमन्त्रीले यस विषयमा आफूसँगको भेटमा कुनै कुरा नगरेको दावी गर्दै भन्नुभयो —‘त्यसबारे मलाई भारतीय विदेशमन्त्री जयशङ्करजी ले केही सोध्नु भएको छैन । कुनै पनि चिनिया प्रतिनिधि मण्डल आएको विषयमा कुरा भएको छैन । यो गलत कुरा हो ।’

राज्य व्यवस्था समितिले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयकका विषयमा छलफलका प्रधानमन्त्री प्रचण्डलाई आजको बैठकमा बोलाइएको थियो । बैठकमा प्रधानमन्त्री प्रचण्डले विधेयकका सम्बन्धमा आफ्नो लिखित धारणा राख्नुभएको थियो ।