फाइल तस्वीर


काठमाडौँ — सत्ता साझेदार दल नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को सचिवालय बैठक भोली बस्ने भएको छ । काठमाडौँको आलोकनगरस्थित पार्टी कार्यालयमा भोली शुक्रबार दिउँसो १ बजे बस्ने सचिवालय बैठक बस्ने भएको हो ।

पार्टीका उपमहासचिव एवम् प्रचार विभाग प्रमुख जगननाथ खतिवडाका अनुसार राष्ट्रियसभाको सदस्य उम्मेदवार र पार्टीको विधान संशोधनबारे बैठकमा छलफल हुने भएको छ । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि पुस २३ गते सोमबारका लागि उम्मेदवारी मनोनयनको समय तोकेको छ ।

उक्त निर्वाचनमा सत्ता गठबन्धनले साझा उम्मेदवार तयार गर्ने एक खालको सहमति भएता पनि कुन दलले कति सिट पाउने भन्नेबारेमा भागबण्डा भई सकेको छैन । गठबन्धन दलहरु भगबण्डाका लागि छलफलमा जुटिरहेका छन् ।

यसैबीच सत्तारुढ दल नेपाली काङ्ग्रेसले पनि पर्सी शनिबार दिउँसो १ बजेका लागि कार्यसम्पादन समितिको बैठक बोलाएको छ । राष्ट्रियसभा सदस्यको उम्मेदवार छनोट गर्न दलहरु पार्टी पदाधिकारी तथा सचिवालयको बैठक राखेर आन्तरिक गृहकार्यमा जुटेका छन् ।