तस्वीरमा प्रधानमन्त्री प्रचण्डसँग शिष्टाचार भेटवार्ता गर्दै भारतीय विदेशमन्त्री जयशङ्कर ।


काठमाडौँ — नेपाल भ्रमणमा रहनुभएका भारतीय विदेशमन्त्री डा. एस जयशङ्करले नेपाल र भारतबीचको मित्रवत सम्बन्ध अनौठो रहेको बताउनुभएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटपछि यस्तो प्रतिक्रिया व्यक्त गर्नुभएको हो ।

भारतीय विदेशमन्त्री जयशङ्करले आपसी साझेदारीको बलबाट ‘नेपाल–भारतको मित्रता साँच्चै अनौठो छ र हाम्रो साझेदारी बलबाट बलियो हुँदै गइरहेको छ’ भन्नुभयो । आफुसँगको भेटका क्रममा नेपालका प्रधानमन्त्री प्रचण्डले सन् २०२३ मा गरेको भारत भ्रमणले नेपाल–भारतको सम्बन्धलाई झन् बलियो बनाएको प्रतिक्रिया व्यक्त गर्दै आजको भेटघाट र छलफलले दुई देशबीचको सम्बन्धलाई अझ नयाँ उचाईंमा पुर्याएको दावीसमेत गर्नुभयो ।

नेपाल–भारतको परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा आज बिहीबार बिहानमात्र नेपाल आउनुभएका विदेशमन्त्री जयशङ्करले प्रधानमन्त्री प्रचण्डलाई भेट्नुअघि राष्ट्रपति रामचन्द्र पौडेलसँग पनि बिहान शिष्टाचार भेटवार्ता गर्नुभएको थियो ।

प्रधानमन्त्री प्रचण्डसँग भेटघाटपछि परराष्ट्र मन्त्री नारायणप्रसाद साउदसँगको छलफलका क्रममा आर्थिक तथा सांस्कृतिक विषयका साथै दुई पक्षीय फलदायीका विषयमा समेत कुराकानी भएको थियो । परराष्ट्रमन्त्री साउदसँगको छलफल पछि भारतीय विदेशमन्त्री जयशङ्कर नेपाल–भारतको परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सरिक हुनुभएको थियो ।

भारतीय विदेशमन्त्री जयशङ्करले आजै काङ्ग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटघाट गर्दै हुनुहुन्छ ।