फाईल तस्वीर

काठमाडौँ — प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी एमालेले सत्ता गठबन्धनसँग आफ्नो लागि राष्ट्रियसभा सदस्यको लागि छ वटा सिट मागेको छ । रिक्त राष्ट्रियसभा सदस्यको आगामी माघ ११ गते हुनलागेको निर्वाचनमा एमालेले १९ मध्ये छ सिटमा दावी गरेको हो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहीबार बिहान बसेको सत्ता गठबन्धनको बैठकमा एमालेले छ सिट मागेको बैठकमा सहभागी एक नेताले बताएका छन् ।

आज बस्ने कानून समितिको बैठकमा टीआरसी विधेयक टुंग्याउने विषयमा प्रमुख प्रतिपक्षी दल एमालेले सहमति गरेको खण्डमा उसलाई राष्ट्रियसभाको सदस्यका लागि छ वटा सीट दिन सकिने सत्ता गठबन्धनले एक खालको धारणा बनाएको छ । एमालेले तत्काल टीआरसी विधेयक पास गर्ने शर्तमा सत्ता गठबन्धनका राजनीतिक दल नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी नेपालबीच भित्र दरार नआउनेगरी एमालेलाई छ सिट दिन सकिने सङ्केत देखिएको छ । यस विषयलाई गठबन्धनको अर्को बैठकमा छलफल गरी टुङ्ग्याउन सकिने बताइएको छ ।

आज बिहान बसेको बैठकले यसबारेमा कुनै ठोस निर्णय गर्न सकेन । टीआरसी प्रति प्रमुख प्रतिपक्षी दल एमालेले अवरोध खडा गर्दैआएको छ । सत्ता गठबन्धनले टीआरसी पास गर्ने सर्तमा उसलाई राष्ट्रियसभा सदस्यमा छ वटा सिट दिन चाहेको छ ।