फाइल तस्वीर


काठमाडौँ — नेपालको दुई दिने भ्रमणमा आउनु भएका भारतीय विदेशमन्त्री डा. यस जयशङ्करले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गर्नुभएको छ । विदेशमन्त्री जयशङ्करले आज बिहान महाराजगञ्जस्थित राष्ट्रपति कार्यालयमा पुगेर राष्ट्रपति पौडेलसँग शिष्टाचार भेटवार्ता गर्नुभएको हो ।

भेटका अवसरमा राष्ट्रपति पौडेलले विदेशमन्त्री जयशङ्करसँग नेपाल र भारतबीच कनेक्टीभिटी, जलवायु परिवर्तन असरको न्यूनीकरण र जलविद्युतको विकासमा सहकार्य तथा सहयोग आवश्यक रहेकामा जोड दिनुभयो । राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार राष्ट्रपति पौडेलले हिमाल र पानीको स्रोत बचाउने विषय साझा एजेण्डा भएकाले यसमा मिलेर गम्भीरतापूर्वक काम गर्न जरुरी रहेको बताउनुभयो । राष्ट्रपति पौडेलले कृषि, ऊर्जा शक्ति, पर्यटनको विकास र मानव संशाधन विकास नेपालको प्राथमिकतामा भएकाले यसमा सहकार्यका लागि विदेशमन्त्री जयशङ्करसँग आग्रह गर्नुभयो ।

सो अवसरमा भारतीय विदेशमन्त्री जयशङ्करले नेपालका सम्भावनाप्रति भारत जानकार रहेको उल्लेख गर्दै सबै क्षेत्रमा भारतको निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

भारतीय विदेशमन्त्री जयशङ्कर नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन आज बिहानमात्रै काठमाडौँ आउनुभएको हो । उहाँ भोली दिउँसो स्वदेश फर्किनुहुने कार्यक्रम रहेको छ ।