फाइल तस्वीर


काठमाडौँ — बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा गठबन्धन दलको बैठक सुरुभएको छ । आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्यको रिक्त पदहरुका लागि हुने निर्वाचनका लागि भागबण्डा मिलाउन सत्ता गठबन्धनको बैठक बसेको हो ।

बैठकमा सत्ता गठबन्धनका ठूला दल नेपाली काङग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका शीर्ष नेताको उपस्थिति रहेको छ । रिक्त राष्ट्रियसभा सदस्यको भागबण्डा मिलाउन हिजो मङ्गलबार र आज बुधवार बिहान काङग्रेस र माओवादी केन्द्रका शीर्ष नेताबीच मात्र छलफल भएको थियो । काङ्ग्रेस र माओवादी केन्द्रका नेताहरुको छलफलपछि गठबन्धनमा छलफल गरेर आज साँझ पाँच बजे एमालेसहित बैठक बोलाउने सहमति भएको थियो ।

आगामी फागुन २० गतेदेखि राष्ट्रियसभामा एमालेका (एक मनोनित) सहित नौं जना, काङग्रेसका चार जना, माओवादी केन्द्रका तीनजना, एकीकृत समाजवादीका दुई, जसपाका एक र स्वतन्त्र सांसद एक गरी २० सांसदको पदावधि सकिँदै छ । ति रिक्त स्थानका लागि माघ ११ गते निर्वाचन हुँदैछ ।

माघ दोस्रो साता हुने निर्वाचनमा कोशी प्रदेशबाट दुई, मधेस प्रदेशबाट दुई, बागमती प्रदेशबाट चार, गण्डकी प्रदेशबाट तीन जना, लुम्बिनी प्रदेशबाट दुई जना, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट तीन÷तीन जना राष्ट्रियसभा सदस्यका लागि निर्वाति हुनेछन् । माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि पुस २३ गते उम्मेदवारी दर्ता समय तोकिएको छ । निर्वाचनको मिति नजिकिएसँगै सत्ता गठबन्धन दलहरुबीच सिट बाँडफाँट गर्न छलफलमा जुटेका छन् । सत्ता गठबन्धनका दलहरुले एमालेलाई पनि राष्ट्रियसभा सदस्यको लागि सिट सुरक्षित गर्ने बताइएको छ ।