फाइल तस्वीर
झापा — झापाको शिवसताक्षी नगरपालिका–१ स्थित धरमपुर चोकमा इतिहास एवं भाषाविद् इमानसिंह चेम्जोङको सालिक निर्माण गरिएको छ । १५ लाख ६० हजार नौ सय ६६ रुपैयाँको लागतमा सालिक निर्माण स्थल सहितको संरचनामा निर्माण गरिएको निर्माण समितिका संयोजक देउबहादुर चेम्जोङले जानकारी दिनुभयो ।

यसका लागि दाताहरुबाट २१ लाख ५२ हजार दुई सय ५६ रुपैयाँ सङ्कलन गरिएको र छ लाख ३१ हजार दुई सय ९० रुपैयाँ बचत समेत भएको संयोजक चेम्जोङले बताउनुभयो । हाल पठनपाठन हुँदै आएको किराँत भाषा र लिपिको विकास एवं विस्तारमा इमानसिंह को योगदान उच्च रहेको छ ।

तस्बिर चित्राङ्कित हुलाक टिकट प्रकाशन गरी सरकारले उहाँलाई राष्ट्रिय प्रतिभाका रूपमा मान्यता दिएको छ । यसैबीच स्व चेम्जोङको एक सय २१औँ जन्मजयन्तीका अवसरमा शिवसताक्षी नगरपालिकाका प्रमुख मेघाहाङ थोप्राले उक्त सालिक अनावरणसमेत गर्नुभएको छ ।