मुग्लिन — जलयात्रामा आश्रित मजदुर (रिभरगाइड)ले पारिश्रमिक बढाउनुपर्ने माग गरेका छन् । उनीहरुले कम्तीमा दैनिक ज्याला तीन हजार हुनुपर्ने माग गरेका हुन् । चितवनको इच्छाकामना–३ फिस्लिङमा सम्पन्न हिमालयन रिभरगाइड एसोसिएसन (हर्गान)को १५औँ साधारणसभाले कम्तीमा रिभरगाइडको दैनिक पारिश्रमिक रु तीन हजार हुनुपर्र्ने निर्णय समेत गरेको छ । हर्गानका उपाध्यक्ष डोलबहादुर गुरुङले अनुसार जलयात्रा मजदुरले हाल दैनिक ज्याला दुई हजार पाँच सय पाउँदै आएका छन् । साथै साधारणसभाले धेरै दिनको यात्रामा जान परेमा रिभरगाइडको दैनिक ज्याला चार हजार हुनुपर्ने माग गर्ने निर्णय गरेको उहाँले बताउनुभयो ।

काममा लामो समय खटिनुपर्ने भएकाले हाल पाइरहेको दैनिक पारिश्रमिक कम भएको उनीहरुको भनाइ छ । लामो समयदेखि रिभरगाइडको काम गर्दै आउनुभएका  चितवनका मिलन गुरुङले बिहानदेखि राति अबेरसम्म खटिनुपर्ने भएकाले हाल जलयात्रा पर्यटन व्यवसायीहरुले उपलब्ध गराउँदै आएको पारिश्रमिकमा वृद्धि गर्नुपर्ने आफूहरुको माग रहेको बताउनुभयो ।  

उहाँले भन्नुयो, “पर्यटकलाई  बिहानदेखि बेलुका अबेरसम्म समय दिनुपर्ने हुन्छ, दिनभर जलयात्रा (राफ्टिङ गराएर  होटलसम्म पु¥याउनुपर्ने हुन्छ, सधैँ काम हँुदैन ‘सिजन’मा मात्र हुने कमाईले दैनिक गुजारा चलाउनसमेत कठिन हुन्छ ।”

त्रिशूली नदीमा निर्माणाधीन  सुपर त्रिशूली हाइड्रो पावर निर्माण रोक्न पनि रिभरगाइडले  माग गरेका छन् । सो स्थानमा बन्ने हाइड्रो पावरले  त्रिशूली नदीको जलयात्रामा आश्रित  स्थानीय ७० जनाभन्दा बढीको रोजगारी नै गुम्ने रिभरगाइड गुरुङको भनाइ छ ।  साथै सो आयोजनाका कारण एक सय ५० भन्दा रिभरगाइडको रोजगारीमा असर पुग्ने उहाँको भनाइ छ । जलयात्राका लागि विश्वमै उत्कृष्ट मानिने त्रिशूली नदीको सौन्दर्यता बिग्रनाका साथै जलयात्रा व्यवसायी  र त्यसमा आश्रित मजदुरको रोजीरोटी खोसिने हर्गानको ठहर छ । त्रिशूली नदी बचाउनका लागि  सम्बन्धित निकायमा खबरदारी गर्नेलगायत  सङ्घर्षका कार्यक्रमहरु गर्ने जनाएको छ । यसअघि पनि  जलयात्रा मजदुर र व्यवसायीले विरोधस्वरुप  राजमार्गमा पदयात्रा गरेका थिए ।