काठमाडौँ — परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले जलविद्युत्, कृषि, सांस्कृतिक सम्पदा र पर्यटनमा सुदूरपश्चिम क्षेत्र प्रख्यात रहेको बताउनुभएको छ । एभरेष्ट ग्यालरीद्वारा आज काठमाडौँमा आयोजना गरिएको ‘दृश्यमा खप्तड शृङ्खला–२’ म्युजिक भिडियो विमोचन गर्दै मन्त्री साउदले पवित्र तीर्थस्थल र सांस्कृतिक सम्पदाहरुको उपलब्धताले पनि सुदूरपश्चिम प्रदेश महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सात प्रदेशमध्ये प्राकृतिक स्रोत र सम्पदामा सुदूरपश्चिम प्रदेश धनी छ, यहाँ पनि विकासका सम्भावनाको ढोका खुलेको छ ।”

उहाँले खाद्यान्न उत्पादनका लागि मलिलो उर्वर जमिनका रुपमा कैलाली र कञ्चनपुरका फाँटहरु रहेका जानकारी दिनुभयो । “सिँचाइका लागि नदीनाला खोज्ने हो भने महकाली, कर्णाली छ” उहाँले भन्नुभयो, “त्यसमा जलविद्युत्को उत्पादनको प्रतिशत हेर्ने हो भने पनि दुनियाँका सबैभन्दा सम्भावना भएको क्षेत्रमा सुदूरपश्चिम पर्दछ ।” 

नेपालका पाँच ठूला नदीमध्ये तीनवटा सुदूरपश्चिममा रहेका उहाँको भनाइ थियो । मन्त्री साउदले अहिले पनि सुदूपश्चिममा आवश्यक विकास गर्न नसकिएकाले त्यहाँको पर्यटनदेखि अन्य क्षेत्रको विकासमा सबै क्षेत्रको सहयोग आवश्यक रहेको बताउनुभयो । उहाँले प्रसिद्ध खप्तड क्षेत्रको विकासमा सबैको सहयोग आवश्यक रहेको पनि बताउनुभयो । 

यसैगरी सो कार्यक्रममा पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सुदूरपश्चिमलाई चिनाउने तथा सुदूरपश्चिमको प्रमुख पर्यटकीय क्षेत्र खप्तड भएकाले त्यहाँको क्षेत्रलाई देश–विदेशमा चिनाउन दृश्यमा खप्तड शृङ्खला–२ ले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।

उहाँले आफू संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भएका बेला सुदूरपश्चिमका विभिन्न धार्मिक, पर्यटकीय तथा सांस्कृतिक क्षेत्रको विकासका लागि आवश्यक बजेट विनियोजन गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “सुदूरपश्चिममा धार्मिक, पर्यटकीय तथा सांस्कृतिक क्षेत्रको मात्रै विकास गर्न सके सुदूरपश्चिमको स्तर माथि उठ्ने छ, म जनताको प्रतिनिधि हुँ, सुदूरपश्चिमको विकासका लागि म अहोरात्र खटिँदै आएको छु ।” 

कार्यक्रममा नेकपा माओवादीका नेता तथा सुदूरपश्चिम प्रदेशका सांसद शिवसिंह ओली, संवीधानसभा सदस्य तथा कांग्रेस नेता भरतबहादुर खड्कालगायतले सुदूरपचिमको प्रमुख पर्यटकीय क्षेत्र खप्तडको विकासका लागि राज्यका तीनवटै तहले सहयोग गर्नुपर्ने बताउनु भएको थियो ।