तस्वीरमा मन्त्रालयका कर्मचारीहरुलाई निर्देशन दिनुहुँदै प्रधानमन्त्री प्रचण्ड ।


काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले महिलाहरूलाई आयआर्जन र आत्मनिर्भर बनाएर मात्र महिला अधिकारलाई सुदृढ गर्न सकिन्छ भन्नुहुँदै महिलाहरूद्वारा सञ्चालित उद्योगलाई प्राथमिकता दिन निर्देशन दिनुभएको छ । आज मङ्गलबार दिउँसो महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका मन्त्री, सचिव र अन्य कर्मचारीहरूसँगको मन्त्रालयगत छलफलमा बोल्नुहुँदै प्रधानमन्त्री प्रचण्डले यस्तो निर्देशन दिनुभएको हो ।

नेपालको राजनीतिक परिवर्तनअनुरूप राज्यका संरचनाहरूमा परिवर्तन हुनुपर्नेमा जोड दिँदै प्रधानमन्त्रीले भन्नुभयो, “महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय अत्यन्तै संवेदनशील मन्त्रालय हो । तर, हामीले यसलाई जति प्राथमिकता दिनुपर्ने हो, त्यसो गर्न सकेका छैनौं । तसर्थ, आगामी दिनमा यसलाई प्राथमिकता दिनेगरी यसको पुनर्संरचना गर्नु आवश्यक छ।”

सो अवसरमा मन्त्रालयका पदाधिकारीहरुलाई निर्देशन दिनुहुँदै प्रधानमन्त्रीले त्यसका लागि महिलालाई प्राथमिकता दिने नीति र महिलाहरूद्वारा सञ्चालित उद्योग र व्यवसायलाई प्राथमिकता दिने नीति लागू गर्न जोड दिनुभयो ।