फाइल तस्वीर
काठमाडौँ — सत्ता साझेदार मुख्य दुई दल नेपाली काङ्ग्रेस र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का शीर्ष नेताबीच माघ ११ गते हुने १९ सिटका लागि हुने राष्ट्रियसभा सदस्य निर्वाचन सम्बन्धमा छलफल भएको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा आज बिहान प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र काङ्ग्रेस सभापति शेरबहादुर देउवालगायत शीर्ष नेताहरुबीच छलफल भएको हो ।

नेपाली काङ्ग्रेसका प्रमुख सचेतक रमेश लेखकले पहिलो चरणमा गठबन्धनका दुई ठूला दलबीच राष्ट्रियसभा सदस्य निर्वाचनलगायत समसामयिक विषयमा छलफल भएको र त्यसपछि गठबन्धनका अन्य दलसँग पनि छलफल हुने बताउनुभयो । आजको छलफलमा काङ्ग्रेसका उपसभापति एवं उपप्रधानमन्त्री पूर्णबहादुर खड्का, पार्टीका महामन्त्री गगनकुमार थापा, प्रमुख सचेतक लेखक र माओवादीका तर्फबाट वरिष्ठ उपाध्यक्ष एवं उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठलगायत नेताहरु सहभागी हुनुहुन्थ्यो । राष्ट्रियसभा सदस्यको निर्वाचन आगामी माघ ११ गते हुँदैछ ।