फाइल तस्वीर : राज्य व्यवस्था तथा सुशासन समितिको बैठक ।


काठमाडौँ — प्रतिनिधिसभा अन्तर्गत रहेको राज्य व्यवस्था तथा सुशासन समितिले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री र भौतिक पूर्वाधारमन्त्रीको भूमिकाबारे छानविन गर्न सरकारलाई निर्देशन दिएको छ । ललिपुरको बालकुमारीमा १३ गते शुक्रबार भएको गोली काण्डलाई लिएर समितिले छानविन गर्न सरकारलाई निर्देशन दिएको हो ।

आज सोमबार बसेको उक्त समितिको बैठकमा गृहमन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएका उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठसँगको छलफलपछि दुई मन्त्रीको भूमिकाबारे छानविन गर्न निर्देशन दिएको हो । कोरियाली भाषा परीक्षा दिन पाउनु पर्ने माग गर्दै युवाहरुले गरेको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागि दुई जना युवाहरुको मृत्यु भएको थियो ।

समितिका सभापति रामहरि खतिवडाले ‘उक्त घटना घट्न श्रम रोजगार तथा सामाजिक मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र मन्त्रीको भूमिकाबारेमा समेत छानविन गर्न निर्देशन दिने’ निर्णय भएको जानकारी दिनुभयो ।

पानीजहाज निर्माणको कामका लागि दिएको भाषा परीक्षामा फेल भएकाहरुले उत्पादनमूलक कामका लागि लिइने भाषा परीक्षामा पनि सहभागी हुन पाउनुपर्ने माग गर्दै आन्दोलन गरिरहेका थिए । सोही क्रममा केही युवाहरुले भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला चडेको गाडीमा आगजनी गरेपछि उत्पन्न परिस्थितिका कारण प्रहरीले चलाएको गोली लागि दुई जनाको मृत्यु भएको थियो ।