मध्यविन्दु — नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोटमा आयोजित प्रथम गैँडाकोट हाफ म्याराथनको उपाधि त्रिभुवन आर्मी क्लबका राजन रोकायाले जित्नुभएको छ ।

आइतबार सम्पन्न दौडमा रोकायाले निर्धारित २१ किलोमिटर दूरी एक घण्टा तीन मिनेट पाँच सेकेण्डमा पूरा गरी उपाधि हात पार्नुभएको हो । उहाँले एक लाख पुरस्कार प्राप्त गर्र्नुभयो । यस्तै दोस्रो स्थान पनि त्रिभुवन आर्मी क्लबकै नरेन्द्रसिंह राउतले प्राप्त गर्र्नुभयो । उहाँले निर्धारित दूरी एक घण्टा तीन मिनेट ३० सेकेण्डमा पूरा गरी ५० हजार पुरस्कार प्राप्त गर्नुभयो । काठमाडौँको धापाखेलका अजितकुमार यादव एक घण्टा पाँच मिनेट ५२ सेकेण्डमा दूरी पूरा गरी तेस्रो हुनुभयो । उहाँले २५ हजार पुरस्कार पाउनुभयो ।

यस्तै महिलातर्फ सशस्त्र प्रहरी बलको एपिएफ क्लबकी सीमा चौधरी पहिलो हुनुभयो । उहाँले सो दूरी एक घण्टा २७ मिनेट १४ सेकेण्डमा पार गर्दै २५ हजार पुरस्कार प्राप्त गर्नुभयो । यसैगरी पाँच किलोमिटर विद्यार्थीमैत्री दौड प्रतियोगितामा पश्चिम नवलपरासीका प्रेमलाल कोहार प्रथम हुनुभयो । उहाँले निर्धारित दूरी १५ मिनेट १९ सेकेण्डमा पूरा गरी १० हजार पुरस्कार हात पार्नुभयो । तनहुँको रिसिङका अमृत विक १५ मिनेट ३६ सेकेण्डमा दूरी पूरा गरी दोस्रो तथा काठमाडौँको चन्द्रागिरिका अनुज महत १५ मिनेट ५५ सेकेण्डमा दूरी पार गरी तेस्रो हुनुभयो । उहाँहरुले क्रमशः पाँच हजार र तीन हजार पुरस्कार प्राप्त गर्नुभयो ।

विजय फाउण्डेसन नेपालको आयोजनामा भएको गैँडाकोट हाफ म्याराथनमा २८ महिलासहित दुई सय ५० जनाले भाग लिएका थिए । पाँच किलोमिटर दौडमा एक सय ८० विद्यार्थी सहभागी भएका संयोजक आदर्श सिग्देलले जानकारी दिनुुभयो ।