फाइल तस्वीर:राज्य व्यवस्था तथा सुशासन समिति ।


काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सहभागी हुनुभएको छ । राज्य व्यवस्था तथा सुशासन समितिले निजी क्षेत्रको दुरसेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिदविक्री प्रकरणलाई लिएर छलफल गर्न बैठकमा बोलाएपछि प्रधानमन्त्री प्रचण्ड त्यहाँ पुग्नुभएको हो ।

समितिमा एनसेलको शेयर खरिदबिक्री प्रकरणमा प्रश्न उठेपछि सो बारे सत्य तथ्य जानकारी लिन प्रधानमन्त्रीलाई आजको बैठकमा बोलाइएको हो । बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा, नियामक निकाय दुरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाललाई समेत बोलाइएको छ ।

एनसेलमा ८० प्रतिशत हिस्सा शेयर ओगट्ने रेनोल्ड होल्डिङ्स नामक सेन्ट किट्समा दर्ता भएको कम्पनीको स्वामित्व हालै मलेसियाको आजियटाले गैरआवासीय नेपाली सतीशलाल आचार्यको स्पेक्ट्रलाइट युकेलाई बेचेको सार्वजनिक भएपछि एनसेल प्रकरणमा ठूलो आर्थिक घोटाला भएको आशङ्का गरिएको छ ।

एनसेल कम्पनी खरिद बिक्रीको निर्णय सार्वजनिक भएपछि ठूलो घोटला भएको भन्दै विभिन्न प्रश्नहरु उठेका छन् । सत्ता गठबन्धन र विपक्षी दलका शीर्ष नेताहरु नै यस प्रकरणमा संलग्न भएको आशङ्का गरिएको छ ।

यद्यपि, एनसेलको शेयर खरिद बिक्री प्रकरणको बारे अध्ययन गर्न सरकारले पूर्वमहालेखा परीक्षक टङ्कमणि शर्माको संयोजकत्वमा एक उच्चस्तरीय समिति गठन गरेको छ ।