फाइल तस्वीर: राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना


काठमाडौं — राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विदेशी महिलाले नेपालीसँग विवाह गरेलगत्तै नेपाली नागरिकता पाउने व्यवस्था विवादका बीच पास भएको खुलासा गर्नुभएको छ । विवाह लगत्तै विदेशी बुहारीले नेपाली नागरिकता पाउने व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै विवाह लगत्तै विदेशी बुहारीले नागरिकता पाउने व्यवस्थासहितको ऐन विवादकाबीच बनेको खुलासा गर्नुभएको हो ।

आज मङ्गलबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्नुहुँदै राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाले ‘विदेशी महिलाले नेपालीसँग विवाह गरेलगत्तै नेपाली नागरिकता पाउने व्यवस्था विवादका बीच पास भएको छ, भारतमा विवाह भएर गएर बसोबास गरेको ७ वर्षपछि मात्रै नागरिकता प्राप्तिको प्रक्रिया अगाडि बढाउन सक्ने ब्यवस्था रहेको पनि स्मरण गर्दै तर नेपालमा त्यस्तो व्यवस्था हुन नसकेको प्रति चिन्ता व्यक्त गर्नुभयो ।

अध्यक्ष तिमिल्सिनाले नेपालीहरुको विवाह भारत र चीनमा समेत हुने गरेको उल्लेख गर्दै ‘ठुलो जनसङ्ख्या भएका छिमेकी छन । छिमेकीसँग कहिलेकाहीँ हुने खटपटले भोलि समस्या ल्याउछ कि, भोलि राष्ट्रियतामा खलल पुर्‍याउँछ कि भन्ने आशङ्का गरिन्छ’— भन्नुभयो ।

कार्यक्रममा सहभागी पूर्व परराष्ट्रमन्त्री एवम् राष्ट्रियसभा सदस्य डा. बिमला राई पौडेलले छोरीलाई विश्वास नगर्ने तर बुहारीलाई विश्वास गर्ने कानुनी व्यवस्था रहेको बताउँदै ‘भारतमा विवाह गरेर जाने नेपाली छोरीले त्यो देशको नागरिक पाउन सात वर्ष कुर्नु पर्ने तर त्यही देशबाट नेपाली पुरुषसँग विवाह गर्ने महिला (बुहारी) ले तुरुन्तै नागरिकता पाउने व्यवस्था हामीले नै पास गरेर पठायौँ । विभेद रहेको जान्दा जान्दै पनि हामी विचरा माननीयहरु प्रभु रिसाउँछन भनेर दलको ह्वीपको नामबाट अन्धभक्त भएका छौं । हामी सांसदका हात बाँधिएका छन्’— भन्नुभयो ।

सोही कार्यकार्यक्रममा बोल्दै राष्ट्रियसभा सदस्य अनिता देवकोटाले पनि छोरा र छोरीको बिच ठूलो विभेद रहेको उल्लेख गर्दै भन्नुभयो — ‘छोराले विहे गरेर ल्याइएकी विदेशी बुहारीलाई तुरुन्तै नागरिकता दिन्छौं । छोरीले विवाह गरेर ल्याएको विदेशी ज्वाईलाई दिदैनौं । यो पनि छोरा र छोरीबीचको ठूलो विभेद हो । ’