तस्वीरमा प्रधानमन्त्री प्रचण्ड ४९औँ दीक्षान्त समारोहमा।


काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक्काइसौँ शताब्दीको भूमण्डलीकृत विश्व बजारका चुनौती सम्बोधन गर्न त्रिभुवन विश्वविद्यालयमा गुणात्मक सुधारको इच्छाशक्ति र सङ्कल्प जरुरी भएको बताउनुभएको छ । त्रिभुवन विश्वविद्यालयको आज भएको ४९औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै त्रिभुवन विश्वविद्यालयमा गुणात्मक सुधारको इच्छाशक्ति र सङ्कल्प जरुरी भएको बताउनुभएको हो

प्रधानमन्त्री एवं कुलपति दाहालले ‘भूमण्डलीकृत विश्वको दवाब तत्कालका निम्ति हाम्रा लागि काबु बाहिर देखिएकाले विश्व बजारका निम्ति प्रतिस्पर्धी जनशक्ति उत्पादनमा हामी कहाँ चुक्यौँ र विगतमा विश्वविद्यालयले आर्जन गरेको बलियो जनविश्वास र भरोसा किन कमजोर हुँदै गयो भन्ने प्रश्नमा समीक्षा आवश्यक भएको औंल्याउनुभएको छ ।

“विश्वविद्यालयमा क्रियाशील प्राज्ञहरूको भूमिका किन ओजपूर्ण हुन सकिरहेको छैन ? विश्वविद्यालयहरूमा शैक्षिक क्यालेण्डर लागू हुन नसक्नु, बेलाबेला पठनपाठनमा गत्यावरोध आइरहनुमा को दोषी छ ?”, प्रधानमन्त्री दाहालको प्रश्न थियो ।

प्रधानमन्त्री प्रचण्डले एकातर्फ हामी विश्वविद्यालयमा राजनीतिक भागबण्डा हुनुहँुदैन, विश्वविद्यालयहरू स्वायत्त प्राज्ञिक निकायहरू हुनुपर्दछ भनिरहेका छौँ, अर्कातर्फ हामी आफैँ राजनीतिक भागबण्डा र दाउपेचका निम्ति दौडिरहेका हुन्छौँ भन्दै शिक्षा व्यक्तिको जीवन, राष्ट्रको उन्नति र समग्र समाजको अग्रगतिका लागि हुनुपर्ने र सर्वसुलभरुपमा उच्च शिक्षा प्राप्त गर्ने अवसर सबैलाई प्राप्त हुनुपर्नेमा प्रधानमन्त्री दाहालले जोड दिनुभयो ।

सङ्ख्यात्मक वृद्धिबाट माथि उठेर गुणस्तरीय शिक्षा दिन विश्वविद्यालयको नेतृत्वलाई आग्रह गर्दै प्रधानमन्त्री प्रचण्डले यसका लागि अभिभावकत्व र सहयोगका निम्ति नेपाल सरकार सधैँ तत्पर रहेको स्मरण गराउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले दीक्षित हुने विद्यार्थीहरूले आर्जन गरेको शिक्षा, ज्ञान र सीप समाजका लागि अझ धेरै उपयोगी बन्ने विश्वास व्यक्त गर्दै आफूलाई सचेत र इमान्दार नागरिकका रूपमा स्थापित गर्दै आफ्नो राष्ट्रप्रतिको कर्तव्य जिम्मेवार रुपमा पूरा गर्ने सफलता दीक्षित विद्यार्थीलाई मिलोस् भनी शुभकामना पनि दिनुभयो ।  

प्रधानमन्त्री प्रचण्डले एक वर्षको अनवरत मेहनत र क्रियाशीलताको परिणाम आज अर्थतन्त्रका अधिकाङ् श सूचकहरूमा सुधार हुँदै गए पनि अपेक्षाकृत परिणाम हासिल गर्न अझै मेहनत गर्नुपर्ने परिस्थिति रहेकाले सरकारको इमान्दार प्रयासमा बौद्धिक युवा जनसमुदायको रचनात्मक साथ, सहयोग र ऐक्यबद्धता रहने विश्वास पनि व्यक्त गर्नुभयो ।