फाइल तस्वीर


काठमाडौँ — राष्ट्रिय मानव अधिकार आयोगले रूस र युक्रेनबीचको युद्धमा संलग्न भइरहेका नेपालीहरुको उद्धार गर्न सरकारलाई आग्रह गरेको छ । युक्रेनी सेनाको आक्रमणमा परी केही नेपालीको मृत्यु भएको र केही घाइते भएको भन्दै आयोगले रूस र युक्रेनमा सहभागी भएका नेपालीहरुको उद्धार गर्न आग्रह गरेको हो ।

रुस र युक्रेनबीच जारी युद्ध लम्बिदै गएको र ती दुवै देशले विदेशी नागरिकहरुलाई सेनामा भर्ना हुन आह्वान गरेपछि नेपाली युवाहरु रोजगारीका लागि नेपाली रूसी र युक्रेनी सेनामा भर्ना भएका थिए । युद्धको चपेटमा परेर केही नेपालीहरुले ज्यान गुमाइसकेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समेत एक साता अघि मात्रै रुसी सेनामा दुई सयभन्दा धेरै नेपालीहरु संलग्न भएको सार्वजनिक गर्दै उनीहरुलाई स्वदेश फर्काउन पहल गरिने बताउनुभएको थियो ।

केही घाइते नेपाली अस्पतालमा उपचाररत रहेका, केही विपक्षी सेनाको नियन्त्रणमा रहेका र सयौँको सङ्ख्यामा दुवैतर्फको सेनामा नेपालीहरू संलग्न रहेको बुझिन आएको भन्दै आयोगका प्रवक्ता टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तिमा ‘नेपाली नागरिकहरू जहाँ र जुनसुकै अवस्थामा रहे पनि उनीहरूको मानव अधिकारको संरक्षण र उद्धार गर्नु सरकारको कर्तव्य हुन जान्छ’— भनि उल्लेख गरिएको छ ।

आयोगले जारी गरेको विज्ञप्तिमार्फत् युद्धमा परी मृत्यु भएकाहरूको शव स्वदेशमा ल्याई आफ्नो धर्म, संस्कृति र परम्पराअनुसार दाहसंस्कार गर्ने व्यवस्था मिलाउन, घाइतेहरूको उपचारका लागि प्रभावकारी पहल गर्न, स्वदेश फर्कन चाहने नेपालीहरूलाई कूटनीतिक पहलद्वारा स्वदेश फर्कने व्यवस्था मिलाउन समेत सरकारलाई आग्रह गरेको छ ।

मृतकका परिवार र घाइतेलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउन तथा भविष्यमा यस प्रकारको गैरकानूनी बाटोबाट वैदेशिक रोजगारमा जाने स्थितिको अन्त्य गरी नागरिकको जिउ धनको सुरक्षा गर्न आयोगले नेपाल सरकारलाई विज्ञप्तिमार्फत आग्रह गरेको छ ।