फाइल तस्वीर


भैरहवा — एसियाली विकास बैङ्क (एडिबी) ले रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा विकास–निर्माणका निम्ति नयाँ विकास परियोजना सुरु गर्ने भएको छ । सिद्धार्थनगर नगर पालिकाले नगरको विकासका लागि प्रस्ताव गरेको योजनामा एडिबीले सघाउने भएको हो ।

यसअघि पनि एडिबीले उक्त नगरपालिकाको विकास–निर्माणका लागि वित्तीय सहयोग उपलब्ध गराउँदै आएको थियो । यसैसन्दर्भमा सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले भन्नुभयो —“हामीले प्रस्ताव गरेका आयोजनामा एडिबीले सहयोग गर्ने जानकारी प्राप्त भएको छ”, “अब थप प्रक्रिया अगाडि बढाउँछौँ, परियोजनाले नगरको मुहार फेर्नमा मद्दत पुग्नेछ ।”

नगरप्रमुख खाँँले आफुहरू नगरको विकासका निम्ति लागिपरेको र अन्य परियोजना पनि नगर क्षेत्रमा समावेश गराउन डटेर लागेको बताउनुभयो । एडिबीको ऋण सहयोगमा नगरपालिका क्षेत्रका सडकमा पैदलयात्री मार्ग, पानीको निकासका निम्ति नाला, साइकल चलाउन बेग्लै बाटो, डण्डा नदीलाई करिडोरको रुपमा विकास गरिनेछ । परियोजनाअन्र्तगत साढे २६ किलोमिटर सडक कालोपत्र गरिनेछ ।

यही मङ्सिर २८ गते एडिबीले नेपालको दिगो पर्यटन प्रवर्द्धन गर्दै स्थानीय बासिन्दालाई गुणस्तरीय जीवनयापनमा सघाउने उद्देश्यले जीवनयापान सुधार परियोजना कार्यान्वयन गर्न रु १६ अर्ब ६० करोडको वित्तीय सहायता उपलब्ध गराउने घोषणा गरेको थियो ।

पर्यटनका माध्यमबाट स्थानीय अर्थतन्त्रलाई सबल बनाउन देवदह, लुम्बिनी सांस्कृति, सैनामैना, सिद्धार्थनगर र तिलोत्तमा नगरपालिकाका साथै जनकपुर उपमहानगरपालिका र पोखरा महानगरपालिकाको आर्थिक वृद्धिमा सघाउन उक्त सहायता घोषणा भएको थियो ।