फाइल तस्वीर

ललितपुर — नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणको मुद्दाको सुनुवाइ सकिएको छ । आज बिहीबार उच्च अदालत पाटनमा खाँणको निवेदनको सुनुवाई सकिएको हो ।

न्यायाधीश कृष्णराम कोइरालाको इजलासमा आज भएको सुनुवाईको आदेश आजै आउन सक्ने सम्भावना छ । आजको बहसको सुनुवाइबाट काङ्ग्रेस नेता खाँण थुनामै रहने वा धरौटीमा छुट्ने टुङ्गो लाग्ने छ ।

यस अघि मङ्सिर १५ गते भएको संयुक्त इजलासमा न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको राय बाझिए पछि आज न्यायाधीश कृष्णराम कोइरालाको इजलासमा पूर्वमन्त्री खाँणलाई धरौटीमा रिहा गर्ने या थुनामै राख्नेबारे बारेमा सुनुवाई भएको थियो ।

सुनुवाइका क्रममा पूर्वमन्त्री खाँणको पक्षबाट पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खाती, वरिष्ठ अधिवक्ताहरु महादेव यादव र हरिहर दाहाल गोपालकृष्ण घिमिरे, प्रेमबहादुर खड्कालगायतका अधिवक्ताहरूले बहस गर्नुभएको थियो । पूर्वमन्त्री खाँणका कानून व्यवसायीहरुले खाँणलाई थुनामुक्त गर्नुपर्ने माग दावी पेश गर्नुभएको छ ।

यता सरकारी वकिलहरूले भने खाँणलाई थुनामै पठाउने गरी दिएको न्यायाधीश खरेलको आदेशलाई सदर गर्नुपर्ने जिकिर गर्नुभएको थियो ।