फाइल तस्वीर


ललितपुर — नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्वगृहमन्त्री एवम् नेपाली काङ्ग्रेसका नेता बालकृष्ण खाँणको मुद्दाको सुनुवाई उच्च अदालत पाटनमा भइरहेको छ । पूर्वमन्त्री खाँडको निवेदनको सुनुवाई न्यायाधीश कृष्णराम कोइरालाको इजलासमा भइरहेको हो ।

पूर्वमन्त्री खाँणलाई धरौटीमा रिहा गर्ने या थुनामै राख्नेबारे सम्बन्धमा यस अघि मङ्सिर १५ गते भएको सुनुवाईमा संयुक्त इजलासमा दुईजना न्यायाधीशको राय बाझिए पछि आज २८ गते अर्का न्यायाधीशको इजलासमा सुनुवाई भइरहेको छ ।

आज बिहीबार न्यायाधीश कोइरालाको इजलासले नक्कली भुटानी शरणार्थी प्रकरणमा सम्लग्न पूर्वमन्त्री खाँणलाई थुनामै पठाउने वा धरौटीमा रिहा गर्ने भन्ने फैसला गर्नेछ ।

सुनुवाइका क्रममा खाँणको पक्षबाट पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खाती, वरिष्ठ अधिवक्ताहरू महादेव यादव र हरिहर दाहाल, सुरेन्द्र महतो, कृष्णप्रसाद सापकोटाले बहस गरिसक्नुभएको छ ।

त्यसैगरी नेपाल बार एसोशिएनका अध्यक्ष एवम् वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे, प्रेमबहादुर खड्का र विश्वनाथ खनालको बहस चलिरहेको छ ।

पूर्वमन्त्री खाँडको पक्षका अधिवक्ताहरुले बहस सकेपछि सरकारी वकिलको बहस सुरु हुनेछ । सरकारी वकिलको बहसपछि आजै खाँणका वकिलले जवाफी बहस सकेको खण्डमा खाँणलाई थुनामा राख्ने वा धरौटीमा रिहा गर्ने भन्नेबारे उच्च अदालतले निर्णय सुनाउने छ ।

यसअघि मङ्सिर १५ गते भएको भएको सुनुवाईमा खाँणका विषयमा उच्च अदालत पाटनका न्यायाधीशद्वय जनकप्रसाद पाण्डे र प्रकाश खरेलबीच मत बाझिएको थियो । न्यायाधीश पाण्डेले पूर्वमन्त्री खाँणलाई धरौटीमा रिहा र न्यायाधीश खरेलले थुनामा पठाउनुपर्छ भनि राय दिए पछि मत बाझिन पुगेको थियो ।

आज न्यायाधीश कोइरालाले खाँणलाई धरौटीमा रिहा गर्ने राय दिएमा रिहा हुने र थुनामा पठाउनु पर्ने भनेर राय दिएमा थुनामा राखिने छ । यदि न्यायाधीश कोइरालाले फरक मत दिनुभएमा पूर्वगृहमन्त्री खाँडको निवेदन सर्वोच्च अदालत पुग्नेछ ।