फाइल तस्वीरः नक्कली शरणार्थी प्रकरणका आरोपी पूर्वगृहमन्त्री बालकृष्ण खाँड


काठमाडौँ — नक्कली शरणार्थी प्रकरणमा जेलमा बन्दी जीवन विताइरहनुभएका नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाँणको निवेदनमाथि उच्च अदालत पाटनमा सुनुवाई हुँदैछ । पूर्वमन्त्री खाँणको सम्बन्धमा न्यायाधीशबीच राय बाझिएपछि आज बिहीबार उच्च अदालत पाटनमा सुनुवाई हुन लागेको हो ।

यसअघि मङ्सिर १५ गते उच्च अदालत पाटनमा नक्कली शरणार्थी प्रकरणमा सुनुवाई हुँदा अरुका हकमा राय मिलेको भए पनि पूर्वमन्त्री खाँणको हकमा दुई न्यायाधीशबीच राय बाझिएको थियो । काङ्ग्रेस केन्द्रीय सदस्य रहनुभएका खाँणलाई धरौटीमा राख्ने वा थुनामा नै राख्ने भन्ने विषयमा आज सुनुवाई हुँदैछ । आज सुनुवाई गर्ने न्यायाधीशले यसअघिका दुई मध्ये जुन न्यायाधीशको रायलाई समर्थन गर्नुहुनेछ सोही आधारमा खाँणको विषयमा आदेश कार्यान्वयन हुनेछ ।

पूर्वमन्त्री खाँडको सन्दर्भमा आज सुनुवाई गर्ने न्यायाधीशले अघिका दुई बाहेक तेस्रो राय दिएमा खाँणको निवेदन सुनुवाइका लागि सर्वोच्च अदालतको एकल इजलासमा पुग्नेछ ।

उच्च अदालत पाटनले मङ्सिर १५ गते नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न पूर्वउपप्रधानमन्त्री एवम् एमालेका निलम्वित सचिव टोपबहादुर रायमाझी, एमाले उपाध्यक्ष एवम् तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई, आङटावा शेर्पासहित ९ जनालाई थुनामै राख्न आदेश दिएको थियो । तर पूर्वगृहमन्त्री खाँणको सम्बन्धमा भने थुनामा राख्ने र धरौटीमा रिहा गर्ने भन्नेमा दुई न्यायाधीश मत बाझिएको थियो ।