काठमाडौँ — त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले ४९ औँ दीक्षान्त समारोहमा पदक तथा पुरस्कार पाउने विद्यार्थीहरूको नामावली सार्वजनिक गरेको छ । त्रिविले आगामी पुस २ गते दशरथ रङ्गशालामा हुने ४९ औँ दीक्षान्त समारोहमा विश्वविद्यालयबाट विभिन्न तह एवं विषयका उत्कृष्ट नतिजा ल्याएका विद्यार्थीहरूलाई पदक एवं पुरस्कार प्राप्त गर्न लागिएको हो ।


त्रिभुवन विश्वविद्यालयले यस वर्षदेखि कुलपति पदक वितरण बन्द गर्ने भएको छ । त्रिविको दीक्षान्त समारोहमा स्नातकोत्तर तहमा उत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थीलाई कुलपति पदक प्रदान गरिन्थ्यो । त्रिविले आज बुधबार सार्वजनिक गरेको पुरस्कृत हुनेहरुको विवरणमा कुलपति पदकबारे उल्लेख गरिएको छैन ।


यसअघि गत असार ९ गते बसेको त्रिवि परीक्षा सुधार तथा समन्वय परिषदको बैठकले कुलपति पदक वितरण नगर्न प्राज्ञिक परिषदलाई सिफारिस गरेको थियो । सो सिफारिस अनुसार त्रिवि प्राज्ञिक परिषदले यसै वर्षदेखि लागू हुने गरी कुलपति पदक वितरण स्थगित गर्ने निर्णय गरेको थियो । २०१६ सालदेखि गत वर्ष ४८ औं दीक्षान्त समारोहसम्म कुलपति पदक वितरण हुँदै आएको थियो ।

आगामी पुस २ गते त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आयोजना हुने ४९औं दीक्षान्त समारोहमा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीहरुलाई २७ वटा पुरस्कार वितरण गरिँदै छ । ती विद्यार्थीहरुको नामावली सार्वजनिक गर्दै त्रिविले त्यसमा कुनै दाबी विरोध भए पर्सी शुक्रबारसम्म स–प्रमाण परीक्षा नियन्त्रण कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ ।

1
2