तस्वीर
काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले युक्रेनसँग युद्ध लडिरहेको रूसी सेनामा करिब दुईसय जना नेपालीहरु रहेको बताउनुभएको छ । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपालका पदाधिकारीहरुको आज सोमबार पेरिसडाँडामा बसेको बैठकलाई सम्बोधन गर्दै माओवादी केन्द्रको अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री प्रचण्डले यस्तो खुलासा गर्नुभएको हो ।

झण्डै दुई वर्षदेखि रुस र युक्रेनबीच निरन्तर युद्ध भइरहेको छ । दुवै देशले विदेशी नागरिकहरुलाई आफ्नो सेनामा भर्ति हुन आह्वान नै गरेका थिए । सोही अनुसार नेपाली युवाहरु रोजगारीको सिलसिलामा दुवै देशको सेनामा भर्ति भएका समाचारहरु आइरहेका थिए । प्रधानमन्त्रीले आजमात्रै रुसमा करिब दुईसय जति नेपाली युवाहरु रुसी सेनामा रहेको सरकारले जानकारी पाएको बताउँदै सरकारले उनीहरुको खोजी गरिरहेको बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले ‘रूसी सेनामा पनि नेपाली युवाहरु गएर कोही पढ्न गएका कोही भिजिट भिसामा गएका कोही केमा गएका सेनामा भर्ती भएर युद्धकै क्रममा छ जनाको मृत्यु भएको औपचारिक ढङ्गले नै जानकारी आएको र त्यहाँ रहेको करिव दुईसय जनाको खोजी भइरहेको छ’ भन्नुभयो ।

रोजगारी र अध्ययनको क्रममा विदेश पलायन भएका युवाहरुमध्ये रूस–युक्रेन र इजरायल — हमास युद्धमा परेका १६ जनाले ज्यान गुमाएका छन् भने युद्धकै चपेटामा परेर केही नेपालीहरु घाइतेसमेत भएका छन् ।