फाइल तस्वीर


काठमाडौँ — राष्ट्रियसभा सदस्यमा रिक्त १९ सिटका लागि हुने प्रयोजनका लागि मुख्य ठूला दलहरुले दल दर्ता गराएका छन् । आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि सोमबार दिउँसोसम्म नेकपा एमाले, नेकपा माओवादी केन्द्रसहित पाँच राजनीतिक दलले दल दर्ताको निवेदन दिएका हुन् ।

राष्ट्रियसभाको निर्वाचनमा भाग लिन आज निवेदन दिनेमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनमत पार्टी र नेपाल मजदूर किसान पार्टी छन् । निर्वाचन आयोगका अनुसार नेपाली काङ्ग्रेस, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीलगायत अरु दलहरु यो समाचार तयार गर्दासम्म दल दर्ताका लागि आयोग पुगेका छैनन् ।

आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आइतबारबाट दल दर्ताका लागि आयोगले सूचना जारी गरेको थियो । आयोगले उक्त निर्वाचनको प्रयोजनका लागि मङ्सिर २९ गते शुक्रबारसम्मका लागि दल दर्ताको समय दिएको छ । आगामी फागुन २० गतेबाट रिक्त हुने राष्ट्रियसभाको २० पदमध्ये माघ ११ गते १९ पदमा चुनाव हुदैछ ।