फाइल तस्वीर


काठमाडौँ — सर्वोच्च अदालतका लागि प्रस्ताव गरिएका छ जना न्यायाधीशमाथिको सुनुवाई मङ्सिर २९ गते शुक्रबार हुनेभएको छ । आज आइतबार बसेको प्रतिनिधिसभा अन्तर्गत रहेको संसदीय सुनुवाइ समितिमा प्रस्तावित न्यायाधीशहरुको विरुद्ध परेको उजुरीकर्तासँग समितिले छलफल गरेसँगै सबै छ जना प्रस्तावित न्यायाधीशहरुसँग २९ गते सुनावाई गर्ने भएको हो ।

उजुरीकर्तालाई समितिमा बोलाएर सर्वोच्चका प्रस्तावित न्यायाधीशविरुद्ध उहाँहरुले गर्नुको उजुरीको कारण र आधार समितिले मागेको छ ।

सर्वोच्चमा प्रस्तावित न्यायाधीश सारङ्गा सुवेदीविरुद्ध सबैभन्दा धेरै ५ वटा उजुरी परेका छन् । यस्तै टेकप्रसाद ढुङ्गानाविरुद्ध ३ वटा र अर्का प्रस्तावित न्यायाधीश अब्दुल अजिज मुसलमान विरुद्ध १ वटा उजुरी परेको समितिले जनाएको छ ।

अन्य प्रस्तावित न्यायाधीशहरू सुनील पोखरेल, महेश शर्मा पौड्याल र बालकृष्ण ढकालविरुद्ध भने उजुरी परेको छैन । सुनुवाइ समितिको बैठक मङ्सिर २९ गते बस्ने छ ।