काङ्ग्रेसमा राष्ट्रियसभा सदस्यका आकाङ्क्षी बढ्दै, शीर्ष तहका नेतादेखि कलाकारसम्म आकाङ्क्षी
फाइल तस्वीर
काठमाडौं — आगामी माघ दोस्रो साता हुने राष्ट्रियसभा सदस्यका लागि आकाङ्क्षी नेपाली काङ्ग्रेसका चार नेताहरुले गत वर्ष भएको प्रतिनिधिसभाको समानुपातिक प्रणालीतर्फको उम्मेदवारबाट नाम फिर्ता लिनुभएको छ । समानुपातिकबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुन नसकेपछि उहाँहरुले राष्ट्रियसभा सदस्यको आकाङ्क्षा राखी नाम फिर्ता लिनुभएको हो ।

काङ्ग्रेसको समानुपातिकको सूचीमा रहनुभएका नेताहरु गोपालमान श्रेष्ठ, आनन्द ढुङ्गाना, बालकृष्ण पाण्डे र अब्दुल सतारको नाम समानुपातिकबाट फिर्ता लिन पार्टीले निर्वाचन आयोगमा सिफारिसको पत्र पठाएको छ । काङ्ग्रेस केन्द्रीय कार्यालय सचिव कृष्ण दुलालले जानकारी दिए ।

‘गोपालमान श्रेष्ठ र बालकृष्ण पाण्डेले एकै दिन नाम फिर्ता लिनुभएको हो । अर्को पटक, आनन्द ढुङ्गाना र अब्दुल सत्तारले नाम फिर्ता लिनुभएको छ ।’ काङ्ग्रेस पार्टी कार्यालयका सचिव कृष्ण दुलालले बताउनुभयो ।

पार्टीको समानुपातिक सूचिमा रहेकाहरुले प्रतिनिधिसभाको चालु कार्यकालभर सङ्घीय संसद्को उम्मेदवार बन्न नपाउने कानुनी व्यवस्था छ । सोही व्यवस्थाका कारण राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार बन्नका लागि ती नेताहरुले पार्टीको सिफारिस अनुसार समानुपातिक सूचीबाट आफ्नो नाम फिर्ता लिनुभएको हो ।

आगामी माघ ११ गते राष्ट्रियसभामा रिक्त हुने १९ जना सदस्यको लागि निर्वाचन हुँदैछ । उन्नाइस जना राष्ट्रियसभा सदस्यको कार्यकाल फागुनबाट सकिंदै छ । उक्त कार्यकाल सकिनु पूर्व निर्वाचन आयोगले ति रिक्त पद १९ पदमा निर्वाचन गर्ने कार्यतालिका समेत सार्वजनिक गरिसकेको छ । जस अनुसार पुस २३ गते उक्त पदका लागि उम्मेदवारी दर्ता गर्नेसमय तोकिएको छ ।

वर्तमान सत्ता गठबन्धनमा रहेका दलहरुबीच राष्ट्रियसभा निर्वाचनमा पनि तालमेल हुने भएकाले नेपाली काङग्रेसमा शीर्ष तहका केही नेतादेखि विभिन्न क्षेत्रमा आवद्ध व्यक्तिहरु राष्ट्रियसभाको सदस्यका लागि आकाङक्षी देखिएका छन् ।

काङ्ग्रेसबाट राष्ट्रियसभा सदस्यका लागि आकाङ्क्षीहरुमा सभापति शेरबहादुर देउवाका पूर्व परराष्ट्र सल्लाहकार अरुण सुवेदी, कलाकार नीरविक्रम शाह, उद्योगी अनिल रुङ्गटालगायत अन्यपनि देखिएका छन् ।