काठमाडौँ — राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा ११ को लागि रजिस्ट्रेसन आवेदन फारम खुला गरेको छ ।बोर्डले आज एक सूचना जारी गर्दै शैक्षिक सत्र २०८०/८१ मा कक्षा ११ मा भर्ना भएका विद्यार्थीले आगामी पुस १५ गतेभित्र आवेदन फारम भर्न सक्ने जनाएको छ ।
बोर्डले जारी गरेको सूचनामा विलम्ब शुल्कसहित पुस मसान्तभित्र फारम भर्न पाइने उल्लेख छ । विद्यार्थीले पुस १५ भित्र आवेदन बुझाउँदा ४ सय रुपैयाँ शुल्क लाग्नेछ । पुस मसान्तभित्र बुझाउँदा भने दोब्बर शुल्क लाग्ने बोर्डले जनाएको छ ।

माध्यमिक शिक्षा परीक्षा (एसईई) मा न्यूनमत १ दशमलव ६ जीपीए प्राप्त गर्ने विद्यार्थीले कक्षा ११ मा अध्ययन गर्न पाउने छन् । त्यसैका आधारमा रजिस्ट्रेसन फारम भर्ने बोर्डले जनाएको छ ।

आवेदन फारम भर्न प्रधानाध्यापकबाट प्रमाणित गरिएको एसईई कक्षा १० को ग्रेडसिटको प्रतिलिपिसमेत पेस गर्नु पर्नेछ । बोर्डले कक्षा ११ को परीक्षा जेठ दोस्रो साता सञ्चालन गर्दै आएको छ ।