फाइल तस्वीर
काठमाडौँ — टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध परेका रिटको आज हुने भनिएको सुनुवाई हुन सकेन । आजबाट पूर्ण सुनुवाइ हुने भनिए पनि न्यायाधीशद्वय सुष्मालता माथेमा र विनोद शर्माको इजलासले ‘हेर्न नभ्याइने’ सूचीमा राखेको हो।

टिकटकमाथि सरकारले लगाएको प्रतिवद्धविरुद्ध सर्वोच्च अदालतमा १४ वटा रिट दर्ता भएका थिए । ती रिटमाथि सुनुवाई गर्दै मङ्सिर ५ गते भएको सुनुवाइको क्रममा सर्वोच्चले सरकारका नाममा कारण देखाउ आदेश जारी गर्दै आज मङ्गलबारका लागि पूर्ण सुनुवाइको मिति तोकिएको थियो।

सरकारले गत कात्तिक २७ गते सामाजिक सञ्जाल टिकटक माथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । सो विरुद्ध परेको रिटमाथि सुनुवाई गर्दै न्यायाधीश विनोद शर्माको इजलासले मङ्सिर १५ गते भित्र टिकटक बन्द गर्नुको कारणसहितको लिखित जवाफ पेस गर्न सरकारको नाममा आदेश गरेको थियो । सरकारको तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सर्वोच्च अदालतलाई लिखित जवाफ पेश गरिसकेको छ ।