प्रतिकात्मक तस्वीर
सिन्धुपाल्चोक —चिसो सुरु भएसँगै आगो ताप्ने क्रममा जस्तापाताको छानो भएको एकतले घरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । काठले बारेको घरमा आगो ताप्दै गर्दा सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका–८ का ४५ वर्षीय लोकबहादुर नेपालीको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक निरञ्जन भट्टराईले घरभित्र आगो बाली ताप्ने क्रममा आगलागी भई एलपी ग्यास सिलिण्डर पड्किँदा सो घटना भएको जानकारी दिनुभयो । आगलागीबाट लोकबहादुरको पूरै शरीर जलेर घटनास्थलमै मृत्यु भएको हो ।

लोकबाहदुरको परिवारका अन्य सदस्यलाई प्रहरीले तत्काल उद्धार गरेको थियो । प्रहरीका अनुसार आगो पूर्णरूपमा नियन्त्रणमा आएको र क्षतिको अन्य विवरण आउन बाँकी रहेको बताइएको छ ।