फाइल तस्वीरः निर्वाचन आयोग ।
काठमाडौँ — निर्वाचन आयोगले राष्ट्रियसभा सदस्यको रिक्त स्थानका लागि हुने निर्वाचनको कार्यतालिका स्वीकृत गरेको छ । आयोगको बिहीबार बसेको बैठकले आगामी माघ ११ गते हुने निर्वाचन लागि निर्वाचन तालिका स्वीकृत गरेको हो ।

आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम पौडेलेद्वारा आज शुत्रबार जारी विज्ञप्तिमार्फत् निर्वाचन तालिका सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको निर्वाचनको कार्यतालिका अनुसार मङ्सिर २४ गते आईतबारदेखि २९ गते शुक्रबारसम्म दल दर्ताका लागि समय तोकिएको छ ।

राजनीतिक दल दर्ता भएपश्चात् पुस १ गते राजनीतिक दललाई निर्वाचन चिन्ह प्रदान गर्ने र पुस ४ गते स्वीकृत दलको नामावली नेपाल राजपत्रमा प्रकाशनका लागि पठाइने आयोगले जनाएको छ । यसैगरी पुस १६ गते निर्वाचन अधिकृतको नियुक्ति र सोही दिन सातवटै प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने छ ।

पुस २० देखि २९ गतेसम्म निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन कार्यक्रम सञ्चालन हुनेछ भने माघ ११ गते बिहान ९:०० बजेदेखि अपराह्न ३:०० बजेसम्म मतदान हुने कार्यतालिका सार्वजनिक भएको छ ।