फाइल तस्वीर
काठमाडौं — सत्तारुढ दल नेपाली काङ्ग्रेसले पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीको बैठक आह्वान गरेको छ । सभापति शेरबहादुर देउवाले धुम्बाराहीस्थित आफ्नै निवासमा आज बुधबार दिउँसो १ बजेका लागि पदाधिकारी र पूर्वपदाधिकारीको बैठक राख्नुभएको हो ।
आजको बैठकमा आसन्न महासमिति बैठकको तयारी, पार्टीको आन्तरिक विषय र देशको समसामयिक राजनीतिका बारेमा छलफल हुने बताइएको छ ।
काङ्ग्रेसको महासमिति बैठक मङ्सिर २९ गते शुक्रबारदेखि पुस २ गते सोमबारसम्म बस्दै छ । यसअघि महासमितिको बैठक आज मङ्सिर १३ देखि १५ गतेसम्म बस्ने निर्णय भएको थियो । पार्टीको आन्तरिक व्यवस्थापन र तयारी नपुगेको भन्दै काङ्ग्रेसले महासमितिको बैठक दुई साता पर धकेलेको थियो ।