फाइल तस्वीरः राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी ।


काठमाडौँ — राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले वर्तमान समयमा सबै लोकतन्त्रवादी तथा वामपन्थी शक्तिहरू एक हुनुपर्नेमा जोड दिनुभएको छ । राजमोका अध्यक्ष केसीले प्रतिगमनको प्रयत्नलाई असफल पारेर जनआन्दोलनका उपलब्धिहरूको रक्षा गर्न सबै लोकतन्त्रवादी तथा वामपन्थी शक्तिहरू एक हुनुपर्ने बताउनुभएको हो ।

राष्ट्रिय जनमोर्चाले ‘प्रतिगामी शक्तिहरूले जनतामा बढ्दै गइरहेको असन्तोषको फाइदा उठाएर जनताको बलिदानबाट प्राप्त उपलब्धिलाई समाप्त गर्ने कोशिश भैरहेको बताएको छ । जनमोर्चाले आज एक विज्ञप्तिमार्फत् यस्तो धारणा सार्वजनिक गरेको हो ।

देशलाई अँध्यारो युगतिर फर्काउने प्रयत्न भैरहेको भन्दै जनमोर्चाले गणतन्त्र र धर्म निरपेक्षतालाई चुनौती दिने शक्ति अहिलेको समस्याको विकल्प हुन नसक्ने उल्लेख गरेको छ ।

देशमा कुशासन र भ्रष्टाचारले नागरिकको जीवनस्तर खस्किएको, अर्थतन्त्रमा सङ्कट देखिएको र बेरोजगारी बढेको उसको निष्कर्ष छ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य चित्रबहादुर केसीद्वारा जारी विज्ञप्तिमा ‘प्रतिगामी शक्तिहरूले जनतामा बढ्दै गइरहेको असन्तोषको फाइदा उठाएर जनताको बलिदानबाट प्राप्त उपलब्धिलाई समाप्त मात्र गर्ने छन् र देशलाई अँध्यारो युगतिर फर्काउने छन्’ भनिएको छ ।

अहिलेको समस्या समाधानको उपाय भनेको कुशासन र भ्रष्टाचारको अन्त्य गरी सुशासन र सुदृढ गणतान्त्रिक व्यवस्था स्थापना नै हुने जनमोर्चाको भनाइ छ । उसले मङसिर ७ गते राजतन्त्रको पक्षमा भएको प्रदर्शनले अहिले पनि मुलुकमा प्रतिगमनको प्रयत्न भइरहेको पुष्टि हुने निष्कर्ष निकालेको छ ।

नेता केसीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘गणतन्त्र र धर्मनिरपेक्षतालाई समाप्त गर्नका लागि प्रतिगामीहरूले चलाइरहेको त्यस प्रकारको अभियानलाई भारतको कट्टरपन्थी हिन्दुवादी शासकवर्गले पनि प्रोत्साहित गर्दै आएको छ ।’