फाइल तस्वीर: एमाले सचिव योगेश भट्टराई ।

फुङलिङ्— प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी एमालेका सचिव योगेश भट्टराईको गाडीमा ढुङ्गा प्रहार गरिएको छ । उहाँको गाडीमाथि पहिचान पक्षधरको एक समूहले फुङलिङ नगरपालिकाको वडा नम्बर ४ मा रहेको तोक्मेडाँडा बसपार्क नजिकै ढुङ्गा प्रहार गरेको हो ।

ताप्लेजुङमा स्थानीय पार्टी कमिटीले आयोजना गरेको कार्यक्रम सकेर पाँचथरतर्फ फर्कने क्रममा सचिव भट्टराई सवार प्रदेश २(०१००१ च ४० नम्बरको गाडीमा पहिचान पक्षधर समूहले ढुङ्गा प्रहार गरेको ताप्लेजुङ जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रतिनिधिसभाका सांसद समेत रहनुभएका एमाले सचिव भट्टराई चढ्नुभएको गाडीको अगाडिको सीसा फुटेको छ । जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक राजन लिम्बुका अनुसार सांसद् भट्टराई कार्यक्रम सकेर फर्किसक्नुभएको थियो । डेढ किलोमिटर पर होटलमा बसेका पहिचान पक्षधरको समूहका, एक जनाले परबाट भट्टराई सवार गाडीमा ढुङ्गम प्रहार भयो । सोही ढुङ्गाले गाडीको सीसा फुटेको थियो ।

एमाले सचिव एवम् सांसद् भट्टराईलाई नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सुरक्षा दिएको थियो । सांसद् भट्टराई सवार गाडीमा ढुङ्गा हान्नेहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्हिचान पक्षधरको समूहले यसअघि पनि एमाले प्रदेश सांसद तिलकुमार मेन्याङवो, माओवादी नेता इन्द्रबहादुर आङ्वो सवार गाडीमा पनि आक्रमण गरेका थियो । एमाले सचिव भट्टराईले आफु र एमाले पार्टी माथि नियोजित रुपमा आक्रमण भइरहेको भन्दै दुःख व्यक्त गर्नुभएको छ ।