काठमाडौँ — सर्वोच्च अदालतले राष्ट्रपति कार्यालयसहित सरकारको नाममा कारण देखाउ आदेश जारी गरेको छ । टीकापुर हत्याकाण्डका दोषीहरुको थप कैदीको सजाय मिनाहा दिने सरकारको सिफारिस र राष्ट्रपतिको निर्णयविरुद्ध सर्वोच्च अदातलमा परेको निवेदनमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतले आज सरकारको नाममा कारण देखाउ आदेश जारी गरेको हो ।

आज बिहीबार न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको एकल इजलासले कारण देखाउ आदेश दिएको हो । टीकापुरमा हत्या गरिएका प्रहरीका परिवारका सदस्य शारदा कडायत, मन्धरादेवी विष्टलगायतले गत कात्तिक २१ गते राष्ट्रपतिको निर्णयविरुद्ध सर्वोच्च अदातलमा उक्त निवेदन दिनुभएको थियो ।

यसअघि उक्त निवेदन पटकपटक पेसीमा चढेपनि विभिन्न कारण सुनुवाइ हुन सकेको थिएन । उक्त निवेदन पेसी आजको सूचीमा चौथो नम्बरमा परेको थियो ।

सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसको अवसर पारेर टीकापुर प्रकरणमा संलग्न भनिएकाहरुको कैद मिनाहा गरिएको थियो । टीकापुर हत्याप्रकरणका आरोपीहरु हरिनारायण चौधरी, वीरबहादुर चौधरी, प्रदीप चौधरीलगायत गत असोज ३ गते रिहा भएका थिए । थप कैदीको सजाय मिनाहा भएको विरुद्ध परेको निवेदनको आज सुनुवाई गर्दै सर्वोच्चले कारण देखाउ आदेश जारी गरेको छ ।