फाइल तस्वीर
काठमाडौं — काठमाडौं उपत्यका ट्राफिक कार्यालयले भोलि बिहीबार सवारीसाधन लिएर ननिस्कन र निस्कनै परेमा प्रहरीलाई जानकारी गराउन अनुरोध गरेको छ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं सरकारविरुद्धको आन्दोलन र नेकपा एमालेको भातृ सङ्गठन युवा सङ्घको प्रतिकार आन्दोलनको कारण उपत्यकाको ट्राफिक व्यवस्थापनमा समस्या हुन सक्नेहुँदा उपत्यका ट्राफिक कार्यालयले यस्तो आग्रह गरेको हो ।

आज बुधबार सार्वजनिक सूचना जारी गरी ट्राफिक प्रहरी कार्यालयले भोलि बिहीबार काठमाडौँ उपत्यकाभर सवारी आवगमनमा असहजता सिर्जना हुनसक्ने भएकाले अत्यावश्यक काममा मात्र सवारीसाधन लिएर निस्कन आग्रह गरेको छ ।

ट्राफिक प्रहरीले जारी गरेको सूचनामा भनिएको छ– ‘सडकमा निस्कनपूर्व १०० वा १०३ मा टेलिफोन गर्न हुन र ट्राफिक एफएम ९५.५ मेगाहर्ज सुनी सडकको अवस्थाको जानकारी लिएर मात्र निस्कन हुन अनुरोध छ।’ प्रहरीको १०० र १०३ नम्बरमा सम्पर्क गरेर जानकारी लिन सकिने छ । उक्त नम्बरमा फोन गर्दा पैसा लाग्दैन ।

नागरिकको सुरक्षा तथा ट्राफिक व्यवस्थापन गर्ने क्रममा ट्राफिक प्रहरीले सवारीसाधन जुनसुकै ठाउँबाट पनि डाइभर्सन गर्नसक्ने हुँदा ट्राफिक प्रहरीलाई आवश्यक सहयोग गर्न पनि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले नागरिकमा अपिल गरेको छ ।