दक्षिण एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी–२०२३’ को उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्ड ।


काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशको समग्र शिक्षा प्रणालीलाई कसरी सरल, सहज, वैज्ञानिक, जीवनोपयोगी र आत्मनिर्भर बनाउन सकिन्छ भन्ने सवाल अहिलेको महत्वपूर्ण सरोकारको विषय भएको बताउनुभएको छ । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घ र करेन्ट मिडिया एन्ड रिसर्च सेन्टर प्रालिको संयुक्त आयोजनामा भृकुटीमण्डपमा ‘दक्षिण एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी–२०२३’ को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले यस्तो धारणा व्यक्त गर्नुभएको हो ।

प्रधानमन्त्री प्रचण्डले पठन संस्कृतिको विकाससँगै समग्र शिक्षा क्षेत्रको विकासका लागि यस प्रकारका प्रदर्शनीहरुले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुहुँदै ‘हाम्रा छिमेकी राष्ट्र तथा अन्य विकसित मुलुकमा यस्ता प्रदर्शनीहरु राज्यकै पहलमा समेत हुने गरेका छन्’ भन्नुभयो । राज्य र निजी क्षेत्रका प्रकाशकहरुको संयुक्त आयोजना एवं बौद्धिक व्यक्तित्वहरुको सहभागितामा यस्ता कार्यक्रमहरु कसरी व्यवस्थित तुल्याउन सकिन्छ भन्ने विषयमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग आवश्यक समन्वय गर्नुपर्नेमा जोड दिनुभयो ।

‘देशको समग्र शिक्षा प्रणालीलाई कसरी सरल, सहज, वैज्ञानिक, जीवनोपयोगी र आत्मनिर्भर बनाउन सकिन्छ भन्ने सवाल आजको हाम्रो महत्वपूर्ण सरोकारको विषय हो भन्नुहुँदै’ प्रधानमन्त्री प्रचण्डले ‘उच्च शिक्षाका निम्ति वर्षेनी लाखौं विद्यार्थीहरु विदेसिने परिस्थितिले हाम्रो शिक्षा प्रणाली, संरचना, पाठ्यक्रम र कार्यशैलीमा गुणात्मक परिवर्तन आवश्यक छ। यसै यथार्थलाई मध्यनजर गर्दै सरकारले विद्यालय शिक्षा विधेयक संसदमा प्रस्तुत गरिसकेको’ उल्लेख गर्नुभयो ।

शिक्षा क्षेत्रमा अहिले देखिएको सबैभन्दा डरलाग्दो स्थिति भनेको युवा विद्यार्थीहरुको विदेश पलायन हो भन्नु हुँदै प्रधानमन्त्रीले ‘विद्यार्थी देशबाहिर पढ्न जाने, यता देशका विद्यालय तथा विश्वविद्यालयहरु खाली हुँदै जाने डरलाग्दो स्थितिलाई छिटै सम्बोधन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।


प्रधानमन्त्री प्रचण्डले विद्यार्थी पलायनबाट देशको युवा जनशक्तिमात्र बाहिरिइरहेको छैन, देशको ढुकुटी पनि उनीहरुसँगै बाहिरिँदै गएको बताउनुभयो ।

प्रधानमन्त्रीले सरकारको नीति, नियम र संविधान तथा कानुनको दायरामा रही निजी व्यवसाय गर्ने व्यवसायीलाई आर्थिक विकासको हिस्सेदार पक्ष मानेर अघि बढ्नु नै पर्दछ भन्नुुहुँदै ‘नेपालको संविधानमा निजी–सहकारी–साझेदारीको तीनखम्बे अर्थनीतिको व्यवस्था गरेको बताउनुभयो ।संविधानमा व्यवस्था भएबमोजिम साझेदारीको मोडेललाई परिणाममुखी बनाउन सरकार र निजी क्षेत्रबीच सघन सहकार्य र एकता आवश्यक रहेको प्रधानमन्त्रीको भनाइ थियो ।

कार्यक्रममा नेपालका लागि चीनका राजदूत चेन सङले सभ्यताको सन्देश प्रवाह, शान्ति, विकास र क्रस हिमालय सांस्कृतिक आदानप्रदानका लागि पुस्तक प्रदर्शनी महत्वपूर्ण सावित हुने अपेक्षा व्यक्त गर्नुभयो । उहाँले मानव सभ्यताको विकास र प्रगतिका लागि चीन सदैव कटिबद्ध रहने बताउनुभयो ।

प्रदर्शनीमा दक्षिण एसिया क्षेत्रका नेपाल, चीन, भारत, बङ्गलादेशसहितलगायत संयुक्त राज्य अमेरिका, इजिप्टसहित १५ भन्दा बढी देशका प्रकाशक, उत्पादक तथा वितरक गरी एक सय ८० स्टल रहेका छन् ।