फाइल तस्वीर


काठमाडौँ — नेपाल कम्युनिस्ट पार्टी एमालेले जाजरकोट र रुकुम पश्चिनममा एक हजार एक सय स्वयंसेवक परिचालन गर्ने भएको छ । कार्तिक १७ गते मध्यरातमा गएको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिमका ठूलोमात्रामा धनजनको क्षति भएको र भूकम्प पीडितहरुलाई पुनःस्थापित गर्न एमालेले स्वयंसेवक परिचालन गर्न लागेको हो ।

गत कार्तिक १७ गते जाजरकोटको रामीडाँडामा केन्द्रबिन्दु भएर मध्यरातमा ६ दशमलव ४ रेक्टरस्केलको भूकम्प गएको थियो । ती पीडितहरूको पुनः स्थापना र पुनर्निर्माण सहयोग गर्न एमालेको केन्द्रीय टोली आज आइतबार त्यसतर्फ प्रस्थान गरेको छ । भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिमका अधिकाङ्श नागरिक घरबार विहिन भएका छन् । उक्त भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिमसहित १२ जिल्लामा २६ हजार ५२८ निजी घर पूर्ण रूपमा र ३५ हजार ३९५ घरमा आंशिक क्षति भएका छन् ।

उक्त भूकम्पमा परी एक सय ५३ जनाको ज्यान जाने गएको थियो । भूकम्पबाट भएको क्षतिको विवरण गर्ने कार्य अझै भैरहेको छ । भूकम्प पीडितहरुलाई जिल्ला प्रशासन कार्यालय र पालिकाहरुले आपत्कालीन राहत उपलब्ध गराउँदै क्षतिको विवरण सङ्कलन गरिंदै आएको छ ।

केन्द्रीय सरकारले भूकम्प पीडितहरुको पुनःस्थापना र पुनर्निमार्णमा ठोस कदम चाल्न नसकेको गुनासो आइरहेको छ । जाडोको मौसम सुरु भैसक्दा पनि सरकारले भूकम्प पीडितहरुको समस्यालाई सम्बोधन गर्न नसकेको जनगुनासो बढ्न थालेको छ । जाडो बढेसँगै चिसोका कारण दश जनाले ज्यान गुमाइसकेका छन् । चिसोले गर्दा दीर्घ रोगी, सुत्केरी तथा गर्भवती महिला, वृद्ध वृद्धा र बालबालिका समस्यामा परेका छन् ।

भूकम्प पीडितहरुलाई पुनस्थापना र राहत वितरण गर्ने कार्यविधि तयार गर्न ढिलाइ भएका कारण सरकारले भूकम्प पीडितहरुलाई आवश्यक सहयोग गर्न सकिरहेको छैन । सरकारले भूकम्प पीडितहरुलाई तत्काल पहिलो चरणमा ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको थियो ।

भूकम्प पीडितहरुलाई पुनस्थापना गर्न एमालेले पार्टी केन्द्रीय सदस्य किरण पौडेलको संयोजकत्वमा एक हजार एक सय जनाको स्वयंसेवक टोली गठन गरेर भूकम्प प्रभावित क्षेत्रमा परिचालन गरेको हो । एमालेले स्वयंसेवकहरुलाई ४० वटा टोलिमा विभाजन गरेको छ । प्रत्येक टोलीमा २५ जना स्वयंमसेवकहरु परिचालित हुने एमालेले जनाएको छ । स्वयंसेवकहरुले भूकम्प प्रभावित क्षेत्रमा कम्तिमा दुई हप्ता काम गर्ने छन् । उनीहरुले भूकम्प पीडितहरुका लागि घर टहरा पुनर्निर्माण गर्ने छन् । टोलीले बढी प्रभावित क्षेत्रमा पुगेर भग्नावशेष हटाउने र आवश्यकता अनुसार घर टहरा निर्माण गर्नेछ ।

एमाले केन्द्रीय सदस्य एवम् स्वयंसेवक संयोजक किरण पौडेलका अनुसार जाजरकोटमा सात सय र रुकुम पश्चिममा चार सय स्वयंसेवक खटिने छन् । भूकम्पको केन्द्रबिन्दु जाजरकोट भएकोले त्यहाँ भौतिक क्षति धेरै भएको थियो ।