तस्वीरमा : नेपाली सेनाका पदाधिकारी र अभिमुखीकरणमा सहभागी सञ्चारकर्मीहरु ।


काठमाडौँ — सुरक्षा तथा प्रतिरक्षा विषयमा कलम चलाउने सञ्चारकर्मीलाई नेपाली सेनाको साङ्गठनिक स्वरुप, जिम्मेवारी र भूमिकालगायत विषयमा जानकारी गराउने उद्देश्यले सञ्चालित रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम आज सम्पन्न भएको छ ।

सैनिक मुख्यालयमा पाँच दिनसम्म सञ्चालित अभिमुखीकरणमा सहभागी सञ्चारकर्मीलाई सेनाका विभिन्न निकायको काम, कर्तव्य र जिम्मेवारीका बारेमा जानकारी गराइएको थियो । सहभागीलाई नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन काठमाडौँ–तराई÷मधेस द्रुतमार्ग सडक आयोजना र शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको स्थलगत भ्रमण गराइएको थियो ।

बलाध्यक्ष रथी सीताराम खड्काले कार्यक्रममा सहभागी सञ्चारकर्मीलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो । समापन समारोहमा उहाँले यस किसिमको अन्तक्र्रियात्मक कार्यक्रमबाट नेपाली सेनाले अङ्गीकार गर्दै आएको राष्ट्रिय सुरक्षा, जनहितको रक्षा, विकास निर्माण, प्रकृति संरक्षण, विश्व शान्ति प्रवर्द्धनलगायत जिम्मेवारीको यथार्थपरक सूचना सम्प्रेषण गर्न सघाउन पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले संवेदनशील विषयमा खबर सम्प्रेषण गर्दा गम्भीर हुनुपर्नेमा जोड दिँदै निःस्वार्थभावले राष्ट्रसेवामा आफूलाई समर्पण गर्नु अनौपचारिक रुपमा राज्यको चौथो अङ्ग मानिएको सञ्चार जगतको दायित्व भएको बताउनुभयो । रासस