फाइल तस्वीर
बागलुङ — बागलुङको गलकोटमा रहेको धौलागिरि बहुमुखी क्याम्पसमा जेहेन्दार र विपन्न विद्यार्थीलाई निःशुल्क उच्च शिक्षा दिने उद्देश्यले स्वतन्त्र विद्यार्थी युनियनको अगुवाइमा एक करोड रुपैयाँको छात्रवृृत्ति कोष शुभारम्भ गरिएको छ । क्याम्पसका प्रमुख प्रध्यापक डा रामप्रसाद उपाध्यायले एक महिनाको तलबबराबार ७५ हजार रुपैयाँ कोषमा राखेर बुधबार कोषको शुभारम्भ गर्नुभएको हो ।

शुभारम्भकै दिन क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष डा दिनबहादुर थापाले एक लाख पाँच हजार रुपैयाँ कोषलाई सहयोग गर्नुभएको छ । आर्थिक अवस्था कमजोर भएका विद्यार्थीको पठनपाठनमा सहयोग पुर्‍याउने उद्देश्यले स्वतन्त्र विद्यार्थी युनियनले एक करोड रुपैयाँ ‘धौलागिरि बहुमुखी क्याम्पस छात्रवृत्ति कोष’ स्थापना शुभारम्भ गरेको जनाएको छ ।

कोषका लागि ५० लाख रुपैयाँ स्थानीय तहमार्फत र ५० लाख रुपैयाँ देउसीभैलो कार्यक्रम, क्याम्पसका प्रध्यापक, शिक्षक तथा कर्मचारीबाट सङ्कलन गर्ने उद्देश्य रहेको क्याम्पसका स्ववियु सभापति सुदीपसागर कँडेलले जानकारी दिनुभयो । क्याम्पसमा अध्ययन गर्न आउने आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई छात्रवृत्ति रकममार्फत निःशुल्क अध्यापन गराउने उद्देश्य राखेर कोष स्थापना गर्न सुरु गरिएको उहाँले बताउनुभयो ।

“यो एउटा वृहत कोष हो । धौलागिरि क्याम्पसमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीलाई निःशुल्क अध्यापन गराउने हाम्रो अठोट छ । यसले क्याम्पसको शैक्षिक गुणस्तरमासमेत वृद्धि गर्दछ”, सभापति कँडेलले भन्नुभयो, “बागलुङका १० वटै स्थानीय तहलाई साझेदारीमार्फत कोषमा सहभागी गराइने छ । कम्तीमा एक पालिकाले १० लाखको कोष क्याम्पसमा बनाउने छन् भने सोही स्थानीय तहका विद्यार्थीलाई क्याम्पसमा निःशुल्क अध्यापन गराउन सिफारिस गर्न सकनेछ ।”

कोषलाई एक करोड रुपैयाँको बनाउने लक्ष्य अनुसार क्याम्पसका प्राध्यापकहरुले एक महिनाको तलब कोषमा जम्मा गर्न सुरु गरिसकेका क्याम्पसका प्रध्यापक डा रामप्रसाद उपाध्यायले जानकारी दिनुभयो । उहाँले देउसी भैलोकार्यक्रम खेलेर थप रकम सङ्कलन गरिने बताउनुभयो ।

उपाध्ययाका अनुसार क्याम्पसका शिक्षक र कर्मचारीबाट झण्डै १० लाख रुपैयाँ कोषमा सहयोग हुने जानकारी दिनुभयो । उहाँका अनुसार देउसीभैलो, पूर्वविद्यार्थी तथा पूर्व कर्मचारी पुर्नमिलन कार्यक्रममार्फत १० लाख रुपैयाँ सङ्कलन गर्ने लक्ष्य लिइएको छ ।

क्याम्पस र समुदायबीचको सम्बन्ध र सहकार्य बढाउन, उच्च शिक्षा अध्ययन तर्फ विद्यार्थीको आकषर्ण बढाउन कोष निर्माण शुभारम्भ गरिएको स्ववियु सभापति कँडेलले बताउनुभयो । कोष स्थापना गरी जम्मा गरिएको रकमको ब्याजबाट वाषिक एक सयभन्दा बढीलाई छात्रवृतिमार्फत अध्ययन गराउने उद्देश्य रहेको उहाँको भनाइ थियो ।

“कोष स्थापनाको लागि स्ववियुको तर्फबाट तिहारमा देउसी खेल्ने, जिल्लाका १० वटा पालिकाका साथै स्थानीय व्यवसायी, कर्मचारी, समाजसेवी, भूतपूर्व विद्यार्थीलगायत सबैसँग समन्वय गर्ने भएकाले एक करोड रुपैयाँको कोष स्थापना सजिलै हुनेछ”, कँडेलले भन्नुभयो, “अहिले पनि हामीले केही विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराएका छौँ ।” क्याम्पसमा स्थापना गरिने कोषले आर्थिक अभावका कारण पढाइ छोड्नुपर्ने बाध्यतालाई अन्त्य गर्दै क्यापसको शैक्षिक गतिविधिलाई चलायमान बनाउने उहाँले बताउनुभयो ।