फाइल तस्वीरः प्रतिनिधिसभाको बैठक ।


काठमाडौं — सङ्घीय संसद्को चालु अधिवेशन अन्त्य हुने भएको छ । संसदमा पेश भएको सङ्क्रमणकालीन न्याय (टीआरसी) सम्बन्धी विधेयक र सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पास गर्ने भन्दै लम्ब्याइएको बजेट अधिवेशन उक्त विधेयकहरु पास नगरी अन्त्य गर्न लागिएको हो ।

उक्त विधेयकहरु पास नगरी बजेट अधिवेशनको रुपमा रहेको चालु अधिवेशन भोलि बिहीबारदेखि अन्त्य गर्ने तयारी भएको छ । भोलि बिहीबारको बैठकमा शीर्ष नेताहरुले सम्बोधन गरेर चालु अधिवेशनलाई अन्त्य गर्ने विषयमा प्रतिनिधिसभा अन्तर्गत रहेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा छलफल गरिएको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बिहान प्रमुख प्रतिपक्षी दलका एमाले अध्यक्ष केपी शर्मा ओली र सत्ता साझेदार दल नेपाली काङ्ग्रेस सभापति शेरबहादुर देउवासँग दुई विधेयक अगाडि बढाउने विषयमा छलफल गर्नुभएको थियो ।

सरकारको नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डे ‘सङ्क्रमणकालीन न्याय सम्बन्धी र सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पास गरेर मात्रै अधिवेशन अन्त्य गर्ने सरकारको चाहना हो, तर टीआरसी संसदीय समितिमै छ । सम्पत्ति शुद्धीकरण हाउसमा आए पनि राष्ट्रिय सभाबाट पास गर्न समय लाग्छ । दुवै विधेयक अर्को अधिवेशनमा सर्ने भए’— भन्नुहुन्छ ।

सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रतिनिधिसभाको कानुन न्याय तथा मानव अधिकार समितिबाट पास भै प्रतिनिधिसभामा पेश भएको छ ।

यसैगरी ‘बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयक’ कानुन न्याय तथा मानव अधिकार समितिमा विचाराधीन छ । संसदीय उपसमितिले अधिकाङ्श विषयमा सहमति जुटाएर विधेयकको प्रतिवेदन तयार पारेको भएपनि पार्टीका शीर्ष नेताहरुबीच छलफल भएपनि सहमति जुट्न सकेको छैन ।