काठमाडौँ — स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आम नागरिकलाई चाडपर्वका बेला खानपानमा विशेष ध्यान दिन आग्रह गरेको छ । बडादसैँको मुख्य दिन नजिकिँदै गर्दा मन्त्रालयले विज्ञप्ति जारी गरी असन्तुलित खानपान तथा जीवनशैलीका कारण स्वास्थ्यमा समस्या देखिने भएकाले होसियार अपनाउन आग्रह गरेको हो ।

मन्त्रालयले स्वास्थ्य बिग्रिन नदिन सेतो मासु, फलफूल र रेसादार खानेकुरा सेवनमा जोड दिन अनुरोध गरेको छ । ‘चाडपर्वका बेलामा हुने असन्तुलित खानपान तथा जीवनशैलीका कारण स्वास्थ्यमा समस्या देखिनसक्ने भएकाले सेतो मासु, फलफूल र रेसादार खानेकुराहरू सेवनमा जोड दिनुहुन तथा स्वास्थ्यमैत्री जीवनशैलीलाई आत्मसात् गर्नुहुन अनुरोध गर्दछौँ’, मन्त्रालयले विज्ञप्तिमा भनेको छ ।

यस्तै चिकित्सकको सल्लाहबमोजिम औषधि सेवन गरिरहेका नागरिकलाई औषधि नछुटाउन पनि मन्त्रालयले सचेत गराएको छ । यस क्रममा सार्वजनिक बिदाका दिनमा पनि अस्पतालमा आकस्मिक स्वास्थ्य सेवा उपलब्ध हुने जानकारी दिँदै मन्त्रालयले आकस्मिक चिकित्सकीय समूह (ईएनटी), आधारभूत आकस्मिक मेडिकल प्राविधिक (बीईएमटी), एम्बुलेन्स आदि तयारी अवस्थामा राख्न सम्बन्धित सरोकारवाला निकायलाई निर्देशन पनि दिएको छ ।

स्वास्थ्य सेवासम्बन्धी जानकारी आवश्यक भएमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका हटलाइन नम्बर १११५ र ११३३ मा सम्पर्क गर्न सकिने जानकारी पनि मन्त्रालयले गराएको छ ।