फाइल तस्वीरः मन्त्रिपरिषद्को बैठक निर्णयबारे जानकारी गराउँदै सरकारका प्रवक्ता रेखा शर्मा ।


काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा आज सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले इजरायलको घटनामा परी मृत्यु भएका परिवारहरुका लागि राहत उपलब्ध गराउने निर्णय गरेको छ ।

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माकाअनुसार इजरायलमा हमासको आक्रमणमा परी ज्यान गुमाएका नेपालीका परिवारलाई १०/१० लाख रुपैयाँ राहत दिने निर्णय हो ।

इजरायलमा नेपालबाट इन्टर्नमा गएकामध्ये १० विद्यार्थीको मृत्यु भएको थियो । सोही घटनामा परी केही घाइते छन् । बङ्करमा लुकेर रात बिताइरहेकाहरूले उद्धारको याचना गरेका छन् ।

मन्त्री शर्माका अनुसार सरकारले इजरायलमा द्वन्द्वग्रस्त ठाउँमा रहेका नेपाल फर्किन चाहने नेपालीलाई यथाशीघ्र ल्याउन काम गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को बैठकले यस घटनाका सम्बन्धमा मानवीय संवेदनशीलता, परिवारजनमा पर्ने मानसिक आघात तथा समाजमा पर्ने असरसमेतलाई ध्यानमा राखी असान्दर्भिक र असंवेदनशील सामग्रीहरु सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत प्रवाह नगर्न र आ–आफ्नो क्षेत्रबाट जिम्मेवार भूमिका निर्वाह गर्न सबै पक्षलाई अग्रहसमेत गरेको छ ।