तस्वीरः अखिल क्रान्तिकारी अध्यक्ष पञ्चा सिंह ।


काठमाडौँ — सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र निकट अनेरास्ववियु (क्रान्तिकारी)ले संसदमा पेश भएको विद्यालय शिक्षा विधेयक २०८० प्रति आपत्ति प्रकट गरेको छ । शिक्षा विधेयक–२०८० संविधानको मौलिक हक विपरीत रहेको भन्दै अखिलले आपत्ति प्रकट गरेको हो ।

अखिल क्रान्तिकारीले मुख्यतया विधेयकका विषयमा १३ बुँदे धारणा सार्वजनिक गरेको छ ।सोमबार संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनमा क्रान्तिकारी अध्यक्ष पञ्चा सिंहले सङ्गठनको १३ बुँदे धारणा सार्वजनिक गर्दै शिक्षा विधेयक २०८० संविधानको मौलिक हक विपरीत रहेकोले आफूहरुलाई अमान्य भएको बताउनुभएको छ ।

हालै शिक्षकहरुले आन्दोलन गरिसकेपछि सरकारले मौलिकहक विपरित हुनेगरेर सहमति गरेकोमा आपत्ति जनाउँदै सहमतिका कतिपय विषय कार्यान्वयन गर्न नहुने उहाँको जिकिर छ ।

अखिल अध्यक्ष सिंहले विद्यालयका शिक्षक सतप्रतिशत खुल्ला प्रतिष्पर्धाका आधारमा नियूक्त गरिनु पर्ने माग राख्दै — “माइतिघर मण्डलामा भिड जम्मा गरेर विद्यालय शिक्षा विधेयक प्रभावित पार्न पाईंदैन, यति धेरै लाइसिन्स लिएका विद्यार्थीहरु छन् उनीहरुलाई समेत अन्याय हुनेगरी शतप्रतिशत आन्तरिक प्रतिष्पर्धा गर्नु गलत हुन्छ ।”

विद्यार्थी नेता सिंहले भन्नुभयो —“हाम्रो शिक्षालाई राजनीतिक अखडा बनाउनु हन्न, शिक्षकको नियूक्ति खुल्ला प्रतिष्पर्धाबाट हुनुपर्छ, यदि मागहरु सरकारले सम्बोधन नगरे सडक सङ्घर्षमा जान बाध्य हुने छौं ।”

शिक्षा क्षेत्रमा राज्यको लगानी अभिवृद्धि गर्दै शिक्षामा भएको निजी क्षेत्रको लागनी नियमन र सेवामुलक बनाउनु पर्नेमा राज्यले केही मुठ्ठीभर माफियाहरुको स्वार्थका लागि सरकार उत्तरदायीत्वबाट पन्छिएको भन्दै अखिल क्रान्तिकारीले आपत्ति जनाएको छ ।

उक्त सङ्गठनका उपाध्यक्ष नरेश रेग्मीले सार्वजनिक विद्यालयमा पढाउने शिक्षकहरुले आफ्ना छोराछोरीहरुलाई अनिवार्यरुपमा सार्वजनिक विद्यालयमै पढाउने व्यवस्था गर्न आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।

संसद्मा दर्ता भएको शिक्षा विधेयकप्रति शिक्षक सङ्गठनहरुले विरोध गर्दै आएका छन् । शिक्षा विधेयक संसद्मा विचाराधिन छ ।