भूकम्पबाट क्षति भएका भौतिक संरचना


मार्तडी — बझाङमा आज दिउँसो गएको भूकम्पका कारण दुई जना घाइते भएका छन् । जिल्लाको तलकोटलाई केन्द्रविन्दु बनाएर पाँच दशमलव तीन रेक्टरको भूकम्पबाट छविसपाथिभेरा गाउँपालिका–१ को जालेबगरका दुई जना घाइते भएका हुन् । ।

जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार स्थानीय बासिन्दाले दुई जना घाइते भएको प्रहरीलाई जानकारी गराएपनि उनीहरुको परिचय र अवस्था भने खुलेको छैन । भूकम्पका कारण के कति क्षति भयो भन्ने पूर्ण विवरण आइनसकेको प्रहरीले जनाएको छ ।

तलकोट गाउँपालिका–१ को सुनिकोट माध्यमिक विद्यालय, जयपृथ्वी नगरपालिका–१० को सत्यवादी माध्यमिक विद्यालय, हिमालय माध्यमिक विद्यालयका भवनहरुमा क्षति पुगेको छ ।

यसैगरी भूकम्पकै कारण आएको सुक्खा पहिरोले जयपृथ्वी राजमार्गसमेत अवरुद्ध भएको छ । प्रहरीका अनुसार सडक माथिबाट पहिरो जादा जयपृथ्वी नगरपालिका–७ को कचरी खोलामा राजमार्ग अवरुद्ध भएको छ ।

बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयका अनुसार भूकम्पका परकम्प आउने क्रम जारी रहेकाले अवरुद्ध सडक खुलाउन कठिनाइ भएको छ । प्रजिअ पाण्डेयका अनुसारसडक खुलाउन डोजर लगायतका उपकरण तयारी अवस्थामा राखिएको छ ।

भूकम्पका कारण अहिलेसम्म के कति मानवीय र भौतिक क्षति भएको छ भन्ने विवरण प्राप्त भएको छैन । पहाडी र दुर्गम भौगोलिक क्षेत्रका कारण विवरण प्राप्त हुन नसकेको हो । विवरण सङ्कलनका लागि स्थानीय निकाय र सुरक्षाकर्मीहरुलाई निर्देशन दिएको प्रजिअ पाण्डेले बताउनुभयो ।

राष्ट्रिय भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार बझाङको जयपृथ्वी नगरपालिका केन्द्रबिन्दू बनाएर दिउँसो २ बजेर ४० मिनेटमा ५ दशमलव ३ रेक्टरको भूकम्प गएको थियो ।

सुरुमा गएको भूकम्प पछि पुनः सोही क्षेत्रलाई केन्द्रबिन्दू बनाएर ६ दशमलव ३ रेक्टरको भूकम्प गएको थियो । भूकम्पको धक्का सुदूरपश्चिमका सबै जिल्ला र कर्णाली प्रदेशमा समेत महसुस गरिएको थियो ।