फाइल तस्वीर
काठमाडौँ — प्रहरीले दोलखाबाट चार किलो सुनसहित तीन जनालाई पक्राउ गरेको छ । दोलखाका प्रहरी प्रमुख डीएसपी दीपक खड्काका अनुसार गएराति दोलखाको विगु गाउँपालिका–३ जामुनेबाट अवैध सुनसहित उनीहरुलाई पक्राउ गरिएको हो ।

डिएसपी खड्काले भन्नुभयो, ‘बुधबार राति इलाका प्रहरी कार्यालय सिङ्गटीले ४ केजी सुनसहित उनीहरुलाई पक्राउ गरेको हो । आजै दिउँसो पत्रकार सम्मेलन गरेर दोलखा प्रहरीले यस विषयमा थप जानकारी गराउने तयारी गरेको छ ।’
डिएसपी खड्काले भन्नुभयो, ‘सुन जस्तो देखिने धातु बरामद गरेर परीक्षणका लागि पठाएका छौँ ।’ इलाका प्रहरी कार्यालय सिङ्गटी र जिल्ला प्रहरी कार्यालय दोलखाको टोलीले सुन कारोबारमा संलग्न तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीले पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय सिङ्गटीमा राखिएको र उनीहरुको नाम भने सार्वजनिक गरेको छैन । तिब्बत र दोलखाको सिमाना फलेक हुँदै सो सुन भित्र्याएको प्रहरीको प्रारम्भिक अनुसन्धान रहेको छ ।