फाइल तस्वीरः भ्रष्टाचारी ठहर पूर्वमन्त्री रामकुमार श्रेष्ठ ।


काठमाडौं — पूर्वमन्त्री रामकुमार श्रेष्ठलाई विशेष अदालतले भ्रष्टाचारमा दोषी ठहर गरेको छ । भ्रष्टचारको अभियोगमा पूर्वमन्त्री श्रेष्ठविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा सोमबार सुनुवाइ गर्दै अदालतका न्यायाधीशद्वय यमुना भट्टराई र खुशीप्रसाद थारुको संयुक्त इजलासले श्रेष्ठसहित तीनजनालाई भ्रष्टाचारी ठहर गरेको हो ।

आयोगले पूर्वमन्त्री श्रेष्ठविरुद्ध करिब साढे चार करोड रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा २०७८ फागुन १५ गते मुद्दाको सुनुवाइ दर्ता गरेको थियो । विशेष अदालतले उक्त मुद्दाको आज सोमबार फैसला गर्दै श्रेष्ठलाई गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा श्रेष्ठलाई विशेष अदालतले दोषी ठहर गरेको हो ।

पूर्वमन्त्री श्रेष्ठसँग ६ करोड ९० लाख रूपैयाँबराबरको सम्पत्ति भए पनि ४ करोड ४५ लाख रूपैयाँको वैधानिक स्रोत पुष्टि नभएकाले त्यसलाई भ्रष्टाचार गरी कमाएको दावी गरी अख्तियारले २०७८ फागुन १५ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

विक्रम संवत् २०३६ मा शाखा अधिकृतमा नियुक्त भै निजामति सेवामा प्रवेश गरेका श्रेष्ठ सचिवबाट अवकाश पाए पछि २०६९ चैतमा नेकपा माओवादी केन्द्रको कोटाबाट पर्यटन, शान्ति तथा पुनःनिर्माण र खेलकुद मन्त्री बनेका थिए ।