फाइल तस्वीर


काठमाडौँ — सरकार र नेपाल शिक्षक महासङ्घबीच भएको सहमतिप्रति नेपाल राहत शिक्षक सङ्घले असन्तुष्टि जनाउँदै वार्ता बहिस्कार गरेको छ । सरकार र महासङ्घबीच भएको वार्तामा राहत शिक्षक सङ्घको समेत प्रतिनिधित्व रहेको र उनीहरुले आफ्ना माग सम्बोधन नभएको भन्दै वार्ताबाट बाहिरिएका हुन् ।

नेपाल राहत शिक्षक सङ्घका अध्यक्ष एवम् वार्ता टोलिका सदस्य खेमराज अधिकारीले सरकार र महासङ्घबीच भएको सहमतिमा राहत शिक्षकहरुको माग सम्बोधन नभएको भन्दै असहमति जनाएर वार्ता छाडेर बाहिरिनु परेको बताउनुभएको छ । नेपालमा ४५ हजारभन्दा बढी राहत शिक्षकहरु रहेको आफ्ना मागहरु सहमतिपत्रमा नसमेटिएको भन्दै राहत शिक्षक सङ्घले विरोध गरेको छ ।

राहत शिक्षक सङ्घले विगतदेखि नै ४५ हजार राहत शिक्षकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गरिनुपर्ने माग गर्दै पटक पटक आन्दोलन गर्दै आएको थियो । सरकार र महासङ्घबीच आज शुत्रबार भएको सहमतिमा राहत शिक्षकको माग सम्बोधन हुन नसकेको सङ्घको भनाइ छ । सरकार र महासङ्घबीच भएको सहमतिप्रति असन्तुष्ट देखिएको सङ्घले आन्दोलनलाई अब कसरी अघि बढाउने भन्ने विषयमा बैठक बसेर छिट्टै निर्णय गर्ने जनाएको छ ।

सहमतिमा आफ्ना मागहरुप्रति बेवास्ता गरिएको भन्दै राहत शिक्षक सङ्घले नेपाल शिक्षक महासङ्घबाट अलग भन्दै माइतीघर मण्डलामा ४० हजार राहत शिक्षकले संयुक्त रुपमा राजीनामा दिएर पुनः आन्दोलन गर्ने चेतावनी दिएको छ ।