काठमाडौँ — राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) पूरक (ग्रेडवृद्धि) परीक्षाको नतिजा सार्वजनिक गरेको छ । बोर्डले गत साउन २६ र २७ गते सञ्चालन भएको २०७९ सालको पूरक परीक्षाको नतिजा आज बिहिबार सार्वजनिक गरेको हो ।

बोर्डले आज सार्वजनिक गरेको नतिजा अनुसार ६६ दशमलव ९७ प्रतिशत विद्यार्थीले ग्रेड वृद्धि गरेका छन् । परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का अनुसार १ लाख १३ हजार ३ सय १३ विद्यार्थी पूरक परीक्षामा सहभागी थिए । जसमा ग्रेड वृद्धिका लागि पूरक परीक्षा दिएका ३७ हजार ४ सय १६ जना विद्यार्थीले ग्रेड वृद्धि गर्न सकेनन् ।

प्रकाशित नतिजामा कुनै प्राविधिक वा अन्य कुनै कारणले त्रुटि भए नतिजा प्रकाशन हुन नसकेको अवस्थामा सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाईको सिफारिसमा नतिजा प्रकाशन भएको मितिले ६ महिनाभित्रमा निवेदन दिनुपर्ने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । परीक्षा नियन्त्रण कार्यालयले आफ्नो नतिजामाथि चित्त नबुझेको खण्डमा पुनर्योगका लागि १५ दिनको समय दिएको छ । सो अवधिभित्र परीक्षाको नतिजामा कुनै विषयको ग्रेड चित्त नबुझी पुनर्योग गर्न चाहेको खण्डमा ५ सय रुपैयाँ तिरेर निवेदन दिन सकिने जनाएको छ ।