काठमाडौँ —‘विद्यालय शिक्षासम्बन्धी विधेयक– २०८०’ विरुद्ध देशभरका शिक्षकहरु राजधानीको माइतीघरमा भेला भएर आन्दोलित भएका छन् । सरकारले संसद दर्ता गरेको विद्यालय शिक्षा विधेयकको विरोधमा नेपाल शिक्षक महासङ्घको अगुवाइमा शिक्षकहरु आन्दोलनका लागि काठमाडौँ भेला भएका हुन् ।

देशभरबाट आएका हजारौँ शिक्षकहरुले आफूहरुको हकहितविरोधी विधेयक ल्याएको भन्दै सरकारविरुद्ध चर्काे नाराबाजीसहित आलोचना गरिरहेका छन् । महासङ्घले विभिन्न १८ बुँदे माग राखेको छ । जसमा सरुवा बढुवा, दरबन्दी, स्थानीय पालिकाअन्तर्गत नबस्नेलगायतका माग रहेका छन् । देशभरका ३४ हजार विद्यालयका दुई लाखभन्दा बढी शिक्षकहरु आन्दोलनमा उत्रने भएपछि करिब ७० लाख विद्यार्थीको पढाइ प्रभावित हुने भएको छ भने शिक्षकहरुको आन्दोलनका कारण राजधानीको यातायात अस्तव्यस्त बनेको छ ।

महासङ्घका अनुसार माइतीघरमा भेला भएका शिक्षकहरु जुलुससहित नयाँ बानेश्वर पुग्ने र वृहद कोणसभा हुनेछ ।