फाइल तस्वीर

उदयपुर— उदयपुरको उदयपुरगढी गाउँपालिका–७ स्थित श्री आधारभूत विद्यालयका व्यवस्थापन समितिका पूर्वअध्यक्ष पूर्णबहादुर क्यापछाकी मगरविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । मगरले विद्यालयको एक लाख ९० हजार रुपैयाँ हिनामिना गरेको आरोप लगाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज मङ्गलबार विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो ।

अख्तियारले दायर गरेको मुद्दामा मगरसँग एक लाख ९० हजार रुपैयाँ बिगो दाबी गरिएको छ । अनुसन्धान हुँदा मगरले आफ्नै अध्यक्षतामा विद्यालय व्यवस्थापन समितिको बैठक राखी विद्यालयको आयस्रोत बढाउने कार्यको लागि लगानी गर्ने सर्तमा विद्यालयको एक लाख ९० हजार रुपैयाँ लिएको खुलेको अख्तियारले जनाएको छ ।

आधारभूत विद्यालयका तत्कालीन प्रधानाध्यापकबाट कागज भरपाइ गरी लिएको उक्त रकम हालसम्म फिर्ता नगरी हिनामिना गरेको देखिएको हुँदा मगरविरुद्ध सम्पत्ति हानि, नोक्सानी÷हिनामिना गरेको आरोपमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।